काठमाडौं । इंग्ल्यान्डले भारतविरुद्ध बिहीबार सुरु हुने दोस्रो टेस्टमा मोइन अलिलाई खेलाउन सक्नेछ र टिममा अन्य केही परिवर्तन पनि हुन सक्नेछ ।
लर्डसमा हुने यस टेस्ट अगाडि घरेलु टिम भने दबाबमा हुनेछ, किनभने पहिलो टेस्टमा इंग्ल्यान्ड बल्लतल्ल हारबाट जोगिएको थियो । ट्रेन्ट ब्रिजमा भएको त्यस खेलमा इंग्ल्यान्डलाई वर्षाले जोगाएको थियो ।
त्यस टेस्टमा इंग्ल्यान्डले अभाग्यशाली विशेषज्ञ स्पिनर ज्याक लेचलाई खेलाएको थिएन्, यसपल्ट उनले खेल्न पाउन सक्नेछन् । अलराउन्डर बेन स्टोक्सले लामो समय क्रिकेट खेल्न नसक्ने भएपछि टिममा अलिलाई फिर्ता बोलाइएको छ । उनले ६१ टेस्टमा ५ शतक र १ सय ८९ विकेट लिएका छन् ।

त्यसैले उनको उपस्थितिमा लेच फेरि अभाग्यशाली पनि रहन सक्छन् । भारतविरुद्ध अलिको प्रदर्शन राम्रो रहेको छ । खेलमा इंग्ल्यान्डको मुख्य चिन्ता कमजोर माथिल्लो क्रमको ब्याटिङ रहनेछ । कप्तान जोए रुटलाई छाडेर अरू सबै ब्याट्सम्यान खराब लयबाट गुज्रिरहेका छन् । प्रशिक्षक क्रिस सिल्भरउडले पनि यसलाई चिन्ताको विषय मानेका छन् ।

भारत आफै पनि केही परिवर्तनबाट गुज्रिन सक्नेछ । घाइते शार्दुल ठाकुरको स्थानमा भारतले रविचन्द्रन आश्विनलाई टिममा राख्न सक्नेछ । भारत पहिलो टेस्ट जित्नबाट केही मात्र दूरीमा रहेको थियो । तर उसलाई भाग्यले साथ दिएन् । यस्तोमा दोस्रो टेस्ट जितेर शृंखलामा अग्रता लिंदै भारत इंग्ल्यान्डमाथि थप दबाब सिर्जना गर्ने लक्ष्ममा रहनेछ ।
–एएफपीको सहयोगमा ।