काठमाडौं । बार्सिलोनाका लिजेण्ड आन्द्रेस इनिएस्टाले लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेलेको हेर्दा दुख लाग्ने बताएका छन् ।
मेस्सी बार्सिलोनाका लागि मात्र भएको बताउँदै इनिएस्टाले पीएसजीको जर्सीमा उनलाई देख्दा दुख लाग्ने बताएका हुन् ।
अर्जेन्टिनाका फरवार्ड मेस्सीले फ्रेन्च क्लबसँग दुई वर्षको सम्झौता गरिसकेका छन् ।
'मलाई थाहा छैन आन्तरिक रूपमा के भयो तर क्लबलाई यो स्थानान्तरण ठिक हुन आवश्यक छ,' इनिएस्टाले एएफपीलाई भनेका छन्, 'उनलाई अन्य क्लबको जर्सीमा देख्दा दुख लाग्छ । लियो बार्सिलोनाको व्यक्ति हो । मैले मेस्सी जस्तो खेलाडी देखेको छैन ।'
६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।
बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए ।
अर्जेन्टिनाका कप्तान मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए ।
बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले क्याटलन क्लबका लागि ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरे ।
मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।