काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले पेरिसमा करिअरको नयाँ अध्याय सुरु गर्न उत्सुक रहेको बताएका छन् ।
पीएसजीमा अनुबन्धित भएपछि बोल्दै मेस्सीले क्लबको लक्ष्य र आफ्नो महत्वाकांक्षा मिलेको जनाउदै नयाँ अध्याय सुरु गर्न अधैर्य रहेको बताएका हुन् ।
'म पेरिसमा रहेर आफ्नो करिअरको नयाँ अध्याय सुरु गर्न उत्सुक छु । क्लबको लक्ष्य र मेरो महत्वाकांक्षा मिलेको छ,' मेस्सीले पीएसजीको वेबसाइटसँग भनेका छन् ।
३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । पीएसजीले मेस्सीलाई सम्झौता थप गर्नका लागि विकल्प समेत दिईएको छ ।
'मलाई थाहा छ यहाँका खेलाडी र स्टाफ कति प्रतिभावान छन् भनेर । क्लब र प्रशंसकका लागि केहि विशेष बनाउन म दृढ छु । पार्क डेस प्रिन्सेसको पिचमा खुट्टा राख्न म पर्खन सक्दिन,' मेस्सीले भनेका छन् ।
६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।
बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए ।
अर्जेन्टिनाका कप्तान मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए ।
बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले क्याटलन क्लबका लागि ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरे ।
मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारेका छन् ।