काठमाडौं । एडिसन कभानीले यसलाई भनेका छन्, ‘अन्तिम नृत्य’ ।
उरुग्वेली स्ट्राइकरले सन्यासको सोचलाई बिर्सेर गत वर्ष म्यानचेस्टर युनाइटेडसँग अनुबन्ध गरेका थिए । त्यति बेला उनलाई कारोना भाइरस संक्रमणले पनि छोएको थियो ।
अब भने यिनै कभानी आफ्नो खेल जीवनलाई टुंग्याउने निचोडका पुगेका छन्, अन्तिम पटक यस सिजन खेलेर ।
प्रश्न हुन सक्छ, खेलाडीको प्रसंगमा नृत्यको कुरा कताबाट आयो भनेर । गत सिजनको सुरुमा उनी खेल्न छाडेर व्यवसायिक बेले डान्सर हुने क्रममा थिए । उनले एकाएक म्यानचेस्टरका व्यवस्थापक ओले गन सोल्सारबाट क्लबका लागि खेल्ने प्रयास पाए । उनले ‘नाइ’ नै भन्न सकेनन् । फेरि उनले राम्रो गरेर पनि देखाए ।
गत सिजन म्यानचेस्टरका लागि उम्दा प्रदर्शन गर्नेमध्ये उनी पनि एक थिए । यसपल्ट पनि सोल्सारले उनलाई एक वर्ष अझ खेल्न अनुरोध गरेका छन् ।
यसपल्ट पनि उनले ‘नाइ’ नै भन्न सकेनन् । फेरि साताको २ लाख ५० हजार पाउन्ड पारिश्रमिकको प्रस्ताव कम्तीको पनि थिएन्, कस्ता कस्ता खेलाडीले पनि यत्तिको पाउने गर्दैनन् ।

यो प्रस्ताव स्विकारेपछि उनले एउटा निर्णय भने गरेका छन्, अबको सिजन पक्कै अन्तिम हुनेछ । उनी सिजनको अन्त्यसम्म ३६ का भइसक्ने छन् । उमेरले उनलाई सायद धोका दिन सुरु गरेको छ । उनको खास इच्छा हो, म्यानचेस्टरका लागि सक्दो राम्रो खेल्ने, अनि सन् २०२२ को विश्वकपमा आफ्नो देशका लागि उत्तिकै राम्रो खेल्ने ।
त्यसपछि भने व्यवसायिक फुटबलबाट सधैंका लागि सन्यास लिने । अझ उनी भन्छन्, ‘उरुग्वेका लागि विश्वकप जित्नु त मेरो खास सपना हो ।’
त्यसपछि उनी फेरि एकपल्ट व्यवसायिक बेले डान्सर हुने सपना पूरा गर्नतर्फ लाग्नेछन् । अहिलेको अन्तिम नृत्य भने फुटबल मैदानको हो । त्यसपछि साँच्चैको नृत्य सुरु हुनेछ ।

–मिररको सहयोगमा ।