नमीन ढकाल
इलाम । राष्ट्रिय फुटबल टिमका पूर्व स्ट्राइकर सुरेन्द्र तामाङ बुद्धभूमि फुटबल एकेडेमीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
रुपन्देहीको बुद्धभूमिले सहिद स्मारक 'सी' डिभिजन लिग छनौट प्रतियोगिताका लागि सुरेन्द्रलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
एएफसी 'बी' लाइसेन्स प्राप्त सुरेन्द्रले 'सी' छनौट खेल्ने क्लब पहिलो पटक सम्हाल्न लागेका हुन् ।
‘पहिलो इनिङ खेलाडीको रुपमा देश र क्लबका लागि आफुले सक्ने योगदान दिएको थिए । अब दोश्रो इनिङ प्रशिक्षकको रुपमा समेत आफुलाई अब्बल सावित गर्ने कोशिस गर्नेछु ।’ सुरेन्द्रले भने ‘पहिलो पटक लिगमा प्रशिक्षकको जिम्मेवारी सम्हाल्दा खुशी नै लाग्छ यत्रो बर्षपछि काम गर्ने अवसर पाए त्यसमा उत्साहित छु । डेढ दशक लामो खेलाडी करियरमा सिकेका कुराहरुलाई परिस्कृत गर्दै खेलाडीहरुमा प्रयोग गर्नेछु ।’
उनले पारिश्रमिक बारेमा खुलाउन चाहेनन् ।
४ वर्ष अघि 'बी' लाइसेन्स पाएका सुरेन्द्रले यसअघि स्थानीय क्लब र कलेजमा फुटबल तथा फुटसलको प्रशिक्षण दिनुका साथै बिग बार एन्ड ग्रील नामका कफि रेष्टुरेन्ट समेत संचालन आएका थिए ।
इटहरीका स्थायी बासिन्दा सुरेन्द्रले ५ वर्ष राष्ट्रिय टोलीमा रहँदा ११ क्याप जितेका छन् ।
२०५७ सालबाट थ्री स्टारमा १० वर्ष बिताएका सुरेन्द्रले ५ वर्ष कप्तानी समेत गरेका थिए ।
सहिद स्मारक 'ए' डिभिजन लिगमा ५० गोलको कोसेढुंगा पूरा गर्ने मनाङ मस्याङदीका बसन्त थापापछि सुरेन्द्र दोस्रो खेलाडी समेत हुन् ।
१८ वर्ष फुटबलमा बिताउँदा सुरेन्द्रसँग दक्षिण एसियाली मुलुक बाहिर उत्तर कोरिया, ओमन, भियतनाम लगायतका देशबिरुद्ध समेत खेलको अनुभव बटुलेका छन् ।
सन् २०१३ को १ मेमा भएको भारतको मोहन बगान र थ्री स्टार क्लबको मैत्रीपूर्ण खेलपछि खेलाडी करियर अन्त्य गर्दै उनी प्रशिक्षकतर्फ अघि बढेका थिए ।