काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौताका लागि लियोनल मेस्सी फ्रान्सको पेरिस पुगेका छन् ।
अर्जेन्टिनाका कप्तान मेस्सी मंगलबार पेरिस पुगेका हुन् ।
पेरिस पुगेका मेस्सीले मंगलबार मेडिकल र सम्झौता गर्ने बताईएको छ ।
मेस्सीले पीएसजीसँग २ वर्षको सम्झौता गर्ने छन् ।
६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द हुन लागेका हुन् ।
बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए ।
३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् ।
बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरे ।
मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारेका छन् ।