काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब थ्री स्टारले मिडफिल्डर आयुश घलानलाई अनुबन्ध गरेको छ ।
थ्री स्टारले मंगलबार राष्ट्रिय टिमका मिडफिल्डर आयुशलाई अनुबन्ध गरिएको जनाएको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग र राष्ट्रिय लिगका लागि थ्री स्टारले आयुशलाई अनुबन्ध गरेको हो ।
१८ वर्षीय मिडफिल्डर आयुशले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेका हुन् ।
आयुशले पछिल्लो पटक खुमलटार युथ क्लबबाट 'बी' डिभिजन लिग खेलेका थिए ।

नेपालमा पहिलो पटक आयोजना नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाईज फुटबलबाट आयुश चम्किएका हुन् ।
आयुशले पोखरा थन्डर्सबाट एनएसएल खेलेका थिए । उनले पोखराका लागि ६ खेल खेलेका थिए ।
आयुशलाई पोखराले आहा रारा गोल्डकपमा गरेको प्रदर्शनका आधारमा स्थानीय कोटामा क्लबमा तानेको हो । उनले संकटा क्लबबाट पहिलो पटक आहा रारा गोल्डकप खेल्दै उपाधि समेत चुमेका थिए ।
एनएसएलको प्रदर्शनपछि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले उनलाई टिमको बन्द प्रशिक्षणमा बोलाएका थिए ।
आयुशले विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध डेब्यु गरेका थिए ।
अष्ट्रेलियासँग ३-० ले पराजित भएको खेलको उनी ९० औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
आयुश सुमन लामाको स्थानमा मैदान छिरेका थिए ।
थ्री स्टारले यस अघि डोना थापालाई अनुबन्ध गरेको थियो ।
यस्तै डिफेन्डर अनन्त तामाङ,मिडफिल्डर सन्जोक राई र निशान खड्कासँगको सम्झौता नवीकरण गरिसकेको छ ।
थ्री स्टारले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी समेत दिएको छ ।
