एजेन्सी । 'मेक्सिकन मेस्सी' ले परिचित अट्याकिङ मिडफिल्डर लुका रोमेरो इटालियन क्लब लाजियोमा अनुबन्धित भएका छन् ।
लाजियोले रोमेरोलाई स्पेनिस क्लब मालोर्काबाट फ्री ट्रान्सफरमा अनुबन्धित गरेको हो ।
१६ वर्षीय अर्जेन्टिनी खेलाडी रोमेरोले इटालियन क्लबसँग तीन वर्षको सम्झौता गरेका छन् ।
रोमेरो ला लिगाको इतिहासमै सबैभन्दा कम उमेरमा डेब्यु गर्ने खेलाडी हुन् ।
गत सिजन ला लिगामा रियल मड्रिडविरुद्ध खेल्दै उनले डेब्यु गरेका थिए ।
रोमेरो रियलविरुद्ध ८३ औं मिनेटमा मैदान प्रवेश गरे । जतिबेला उनी उमेर १५ वर्ष २ सय १९ दिनका थिए ।

सेल्टा भिगोका पूर्व डिफेन्डर सानसनको कीर्तिमान भङ्ग गर्दै रोमेरोले ला लिगामा डेब्यु गर्ने सर्वाधिक कान्छा खेलाडीको इतिहास रचेका थिए । सानसनले १५ वर्ष २ सय ५५ दिनको उमेरमा ला लिगामा डेब्यु गरेका थिए ।
होचा कदका 'लेफ्ट फुटेड' रोमेरोसँग बल कन्ट्रोल, ड्रिबलिङ र विपक्षी खेलाडीलाई बिट गर्ने क्षमता असाधारण छ । त्यसैले उनलाई 'मेक्सिकन मेस्सी' भनेर समेत बोलाईन्छ ।
रोमेरो अर्जेन्टिनी हुन् । तर, उनी मेक्सिकोमा जन्मिएका थिए । त्यसैले उनलाई मेक्सिसन मेस्सी नाम दिईएको हो ।
स्पेनको फुटबल एकेडेमी सान्ट जोर्डीबाट फुटबल सिकेका रोमेरोले अर्जेन्टिनाको यू-१५ र यू-१७ टोलीबाट खेलिसकेका छन् ।
