एजेन्सी । प्रि-सिजन तयारी अन्तर्गत पहिलो मैत्रीपूर्ण खेलमा इन्टर मिलानले जित निकालेको छ ।
सिरी 'ए' च्याम्पियन इन्टरले शनिबार राति स्विस क्लब लुगानो एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको हो । यससँगै इन्टरले लुगानो कपको उपाधि समेत जितेको छ ।
खेलको निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इन्टरले बाजी मार्यो ।
पेनाल्टी अघि खेलको ३० औं मिनेटमा सान्डी लोब्रिचले गोल गर्दै लुगानोलाई अग्रता दिलाएका थिए ।
३५ औं मिनेटमा मिकाइल फाचिनेट्टीले गोल गर्दै लुगानोलाई २-० को अग्रता दिलाए ।
तर, ३८ औं मिनेटमा डानिलो डीएम्ब्रोसीले गोल गर्दै इन्टरलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ५४ औं मिनेटमा इन्टरका मार्टिन साट्रीयानोले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।
