काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको भोलि (बिहीबार) घुँडाको चोटको शल्यक्रिया गरिने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सावित्राको चोटको शल्यक्रिया बिहीबार हुने बताएका छन् ।
कतारको दोहास्थित अस्पेटार अस्पतालमा सावित्राको चोटको शल्यक्रिया हुनेछ ।
राष्ट्रिय टिमकी मुख्य फरवार्ड सावित्राले महिला लिगमा चोट बोकेकी थिईन् ।
विभागीय टिम एपीएफबाट खेल्ने क्रममा सावित्राको दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको थियो ।
एन्फाले कतार फुटबल संघको सहयोगमा सावित्राको उपचारको प्रबन्ध अस्पेटार अस्पतालमा मिलाएको हो ।
एन्फाकै पहलमा राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम र फरवार्ड बिमल घर्तिमगरले कतारमा उपचार गरेका थिए ।