एजेन्सी । इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले कतार विश्वकपसम्म टिम हेर्ने चाहना व्यक्त गरेका छन् ।
युरोकपको फाइनलमा पराजित भएपछि सोमबार मिडियासँग कुरा गर्दै प्रशिक्षक साउथगेटले २०२२ को विश्वकपसम्म टिम हेर्ने चाहना व्यक्त गरेका हुन् ।
आइतबार राति इटालीसँग पेनाल्टी सुटआउटमा ३-२ ले पराजित भएपछि इंग्ल्यान्ड पहिलो पटक उपाधि जित्नबाट बन्चित भएको थियो ।
'म अहिले यहाँ बसिरहेको छु । म टोलीलाई कतार लैजान चाहन्छु,' साउथगेटले भने, 'अवश्यपनि हामीले कतारका लागि छनोट हुनुपर्छ ।'
इंग्ल्यान्डका पूर्व मिडफिल्डर साउथगेट २०१६ मा टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनले २०१८ को विश्वकपमा टिमलाई सेमिफाइनलको यात्रा तय गराएका थिए । यस्तै उनले इंग्ल्यान्डलाई पहिलो पटक युरोको फाइनल पुर्राएका थिए ।
प्रशिक्षक साउथगेटले आफुलाई आराम चाहिएको समेत बताए ।
'मलाई आराम चाहिएको छ । यी प्रतियोगिताहरुमा अनौठोको अनुभव रह्यो,' उनले थपे ।