काठमाडौं । आसन्न घरेलु लिगका लागि मनाङ मर्स्याङ्दी क्लबले टिम निर्माणको काम लगभग सम्पन्न गरेको छ ।
असोज पहिलो साता सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिग र कात्तिकको अन्तिम साता प्रस्ताव गरिएका राष्ट्रिय लिगका लागि मनाङले टिम बनाउने काम अन्तिम चरणमा पुर्याएको हो ।
अधिकांश पुराना खेलाडीलाई निरन्तरता दिदै क्लबले केहि युवा खेलाडीलाई अनुबन्ध गरेको छ । केही पुराना खेलाडी क्लबमा फर्किएका छन् ।
मनाङमा मुखिया गुरुङ नेतृत्वको नयाँ कार्यसमिति आएको छ । नेतृत्व सम्हाले लगत्तै कार्यसमितिले खेलाडी छनोट कमिटी गठन गरेर टिम निर्माणको काम अघि बढाएको थियो ।
मनाङका उपाध्यक्ष कर्माछिरिङ गुरुङले लिग उपाधि जित्ने लक्ष्य सहित टिम निर्माण गरिएको बताए ।
'घरेलु लिग जित्ने उद्धेश्यले टिम बनाएका छौं । भएका उपलब्ध खेलाडीमध्ये उत्कृष्ट टिम बनाउने कोशिश गरेका छौं ।’ क्लबको खेलाडी छनोट समितिका सदस्य गुरुङले खेलपाटीसंग भने ।
'युवा र अनुभवी खेलाडीलाई संयोजन गर्ने प्रयास गरेका छौं । अझ युवा खेलाडीलाई प्राथमिकतामा राखेका छौं ।’ उनले थपे ।
नयाँ सिजन मनाङको गोलकिपर लाईन विशाल सुनारले सम्हाल्नेछन् । उनी ब्रिगेटबाट नयाँ सिजनका लागि मनाङ आएका हुन् । उमेर समूहको राष्ट्रिय टिममा राम्रो छाप छाडेका विशालले जेठमा सम्पन्न फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)बाट चर्चा कमाएका थिए । उनले एनएसएलमा चितवन एफसीबाट पहिलो रोजाईको रुपमा खेलेका थिए । विशाल राष्ट्रिय फुटबल टिमका सदस्य समेत हुन् । अशोक बराल मनाङका अर्को गोलकिपर हुन् । क्लबले थप एक गोलरक्षक थप्न चाहेको छ ।
यस सिजन मनाङले डिफेन्स लाईनमा परिवर्तन गरेको छ । राष्ट्रिय टिमका खेलाडी दिनेश राजंवशीलाई नयाँ खेलाडीको रुपमा अनुबन्ध गरेको मनाङले सरोज योञ्जन, नरेन्द्र चौधरी र अफ्रिकन खेलाडी फ्राङ्कलिन कवेटेलाई नयाँ डिफेन्डरको रुपमा अनुबन्ध गरेको छ । दिनेश र नरेन्द्रले पछिल्लो सिजनको लिग च्यासलबाट खेलेका थिए । सरोज फ्रेन्ड्सको कप्तान थिए । फ्राङ्कलिन अफ्रिकन रुट्सबाट गत वर्ष मोफसलको प्रतियोगिता खेल्न नेपाल आएका हुन् । एनएसएलमा उनी धनगढी एफसीको डिफेन्डरको रुपमा देखा परेका थिए । धनगढीमा प्रभावशाली देखिएका फ्राङ्कलिनलाई मनाङले अनुबन्ध गरेको हो ।
मनाङले डिफेन्स लाईनमा केही प्रभावशाली खेलाडी थप्न चाहेको छ । साउनको पहिलो साता केही नाम सार्वजनिक हुनेछ । डिफेन्डरको रुपमा आदित्य चौधरी, एकराज बुढाथोकी क्लबमै छन् ।
मिडफिल्डरमा पुजन उपरकोटीलाई निरन्तरता दिएको मनाङले नीतिन थापालाई च्यासलबाट ल्याएको छ । दक्षिण एसियाली कोटाबाट भारतीय खेलाडी दयानन्द सिंहदेखि निशान लिम्बु क्लबमै छन् । विश्व अधिकारीलाई फ्रेन्ड्स क्लबबाट आबद्ध गरेको मनाङले निशान लिम्बुलाई निरन्तरता दिएको छ । दिपक राई मनाङ फर्किएका छन् । अघिल्लो सिजन उनी मछिन्द्रमा थिए । घरेलु फुटबलमा प्रभावशाली देखिएको एडिलाजा सोमिडे यस पटक मनाङको जर्सीमा देखिनेछन् । सोमिडे पछिल्लो सिजन मछिन्द्रमा थिए । मिडफिल्डमा समेत केही नयाँ खेलाडी थपिनेछन् ।
क्लबले फरवार्ड लाईनको जिम्मेवारी कप्तानको रुपमा अन्जन विष्टलाई दिने भएको छ । विमल राना र ओलावाले अफिजले अन्जनलाई साथ दिनेछन् । अफिज यस सिजन मनाङबाट घरेलु फुटबलमा देखिनेछन् । फ्रेन्चाईज फुटबल एनएसएलमा धनगढीबाट खेलेका अफिजले मनाङले मुख्य फरवार्डको रुपमा अनुबन्ध गरेको छ ।
२०७६ को लिगमा मनाङका अधिकांश क्लब मछिन्द्र लागे । कप्तान विराज महर्जन सहित विशाल राई, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, दिपक राई जस्ता ठुला खेलाडीले क्लब छाडेपछि मनाङ समस्यामा परेको थियो । बजारमा उपलब्ध खेलाडीलाई क्लबमा आबद्ध गर्दै मनाङले ७६ को लिग टारेको थियो । औसत टिम बनाएर पनि मनाङले तेस्रो स्थान हात पारेको थियो ।
मछिन्द्र ३१ अंक सहित लिग च्याम्पियन बनेको थियो । आर्मी २९ अंक सहित दोस्रो र मनाङ २८ अंक सहित तेस्रो बनेको थियो ।
लिगको पछिल्लो सिजनबाट पाठ सिक्दै मनाङले खेलाडीको प्रर्दशनको आधारमा टिम बनाउने खोजेको बताउँछ ।
‘आन्तरिक समस्याका कारण पछिल्लो लिगमा धेरै खेलाडी क्लब बाहिर गए । तर पनि रिजल्ट राम्रो आयो । क्लबले लिएको लक्ष्यमा सफल हुन सक्यौं भन्ने लाग्छ ।’ पूर्व राष्ट्रिय खेलाडी समेत रहेका गुरुङले भने, ‘अघिल्लो सिजनको अनुभवले खेलाडीको नाम भन्दा प्रर्दशनमा ध्यान दिएका छौं ।’
मनाङको टिम
गोलकिपर : विशाल सुनार, अशोक बराल
डिफेन्डर : दिनेश राजवंशी, सरोज योञ्जन, आदित्य चौधरी, नरेन्द्र चौधरी, एकराज बुढाथोकी, फ्राङेकलिन कवेटे
मिडफिल्डर : पुजन उपरकोटी, नीतिन थापा, दयानन्द सिंह, विश्व अधिकारी, निशान लिम्बु, दिपक राई, सोमिडे एडिलआजा
फरवार्ड : अन्जन विष्ट, आफिज ओलावाले, विमल राना