एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा अहिले इंग्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा भईरहेको छ ।
वेम्बली स्टेडियमा जारी खेलको पहिलो हाफ सकिदा इंग्ल्यान्डले १-० गोलको अग्रता बनाएको छ ।
खेलको दोस्रो मिनेटमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले किएरन ट्रिपिएरको पासमा गोल गरेका हुन् ।
पहिलो हाफमा बलमा पकड जमाएपनि इटालीले गोल फर्काउन सकेन ।

आज दुबै टिम उपाधि जित्ने लक्ष्यमा रहेका छन् ।
इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो ।
एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो ।
इटाली तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गरेको थियो ।
इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो । यस अघि इटालीले विश्वकपमा ६ र युरोमा ४ पटक फाइनल खेलिसकेको छ ।
इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो । रोमान्चक खेलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो ।
इंग्ल्यान्ड युरोकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो । इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।