एजेन्सी। फ्रान्सको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक परिवर्तन नहुने भएको छ ।
फ्रेन्च फुटबल फेडेरेसनले २०२२ को कतार विश्वकपसम्म मुख्य प्रशिक्षक परिवर्तन नहुने जनाएको छ ।
फ्रान्स युरोकपको प्रि-क्वाटरफाइनलबाट बाहिरिएपछि मुख्य प्रशिक्षक परिवर्तन हुने चर्चा चलेको थियो । फ्रान्स स्विट्जरल्यान्डसँग पेनाल्टी सुटआउटमा ५-४ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
तर, फ्रेन्च फुटबलका अध्यक्ष नोएल ली ग्रेटले कतार विश्वकपसम्म डिडियर डेसच्याम्प नै मुख्य प्रशिक्षक रहने बताएका छन् ।
'हामीले बुधबार भेट्यौं र तीन मिनेटमा यसलाई समाधान गर्यौं । निरन्तरता दिने उनको चाहना अत्यधिक छ र हाम्रो पनि हो । त्यहाँ कुनै बहस भएन,' उनले भने ।
फ्रान्सेली प्रशिक्षक डेसच्याम्पले सन् २०१२ बाट निरन्तर फ्रान्सको टिम हेर्दै आईरहेका छन् । डेसच्याम्पले २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका थिए ।
युरोकपबाट बाहिरिएपछि भने उनले छाड्ने चर्चा चलेको थियो । यस्तै उनको स्थानमा जिनेदिन जिदान आउने चर्चा चलेको थियो ।