एजेन्सी । रियल मड्रिडले नाचो फर्नान्डेजसंगको सम्झौता नविकरण गरेको छ ।
क्लबले नाचोसंग सन् २०२३ सम्म रियलमा रहने गरि सम्झौता नविकरण गरेको हो । नाचोसंग सम्झौता थपेपनि राफेल भरानेको भविष्य रियलमा अझै अनिश्चित देखिएको छ ।
३१ वर्षिया नाचो क्लबमा बसाई लम्ब्याउन तयार भएका छन् । पछिल्लो सम्झौता रियलका लागि खुसीको खबर बनेर आएको छ । कार्लोस एन्सेलोटीले नयाँ सिजन रियल मड्रिडको नेतृत्व गर्दैछन् ।
‘रियल मड्रिड र नाचो फर्नान्डेज सम्झौता नविकरणका लागि सहमत बनेका छन् । नयाँ सहमती अनुसार नाचो अर्को दुई सिजन क्लबसंग रहनेछन् । उनी सन् २०२३ को जुन ३० सम्म क्लबमा बस्नेछन् ।’ क्लबद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
नाचोलाई सुरुवातमा सन् २०२२ सम्मको प्रस्ताव गरिएको थियो । त्यसपछि १२ महिना थप गरिएको हो । नाचो अनुभवी खेलाडीको रुपमा क्लबमा रहनेछन् । क्लबलाई अघि बढाउन अनुभवी खेलाडीको रुपमा उनको महत्व हुनेछ ।
रियल मड्रिडका एकेडेमीका खेलाडी नाचोले २ सय ३३ खेलमा सहभागीता जनाएका छन् । उनले दुई ला लिगा सहित चार च्याम्पियन्स लिगको उपाधि क्लबबाट जितेका छन् ।
स्पेनका भर्सटाईल खेलाडी नाचो राइट ब्याकसंगै अघिल्लो सिजन चोट बोकेका खेलाडीलाई साथ दिए । उनको इडर मिलिटाओसंग राम्रो जोडी बनेको थियो । नयाँ सिजन दुवैको साझेदारी नयाँ प्रशिक्षक एन्सेलोटीलाई विकल्प बन्न सक्छ ।