एजेन्सी । स्पेनिस डिफेन्डर सर्जियो रामोसले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएको दिनलाई आफुले कहिल्यै बिर्सन नसक्ने बताएका छन् ।
पीएसजीसँगको सम्झौतापछि क्लबको वेबसाइटसँग कुरा गर्दै रामोसले यस दिनलाई बिर्सन नसक्ने बताएका हुन् । पीएसजीले रामोसलाई बिहीबार सार्वजनिक गरेको थियो ।
'पीएसजीमा अनुबन्धित हुन पाउदा धेरै खुसी छु,' रामोसले भनेका छन्, 'यो मेरो जीवनको ठुलो परिवर्तन हो । नयाँ चुनौती हो र यस दिनलाई म कहिल्यै बिर्सन सक्दिन ।'
रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर रामोसले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । रामोसले पीएसजीमा ४ नम्बरको जर्सी लगाउने छन् ।
यस्तै रामोसले आफ्नो उदेश्य पीएसजीलाई जितका लागि सहयोग गर्नु र उपाधि उचाल्नु रहेको समेत बताए ।
'महत्वाकांक्षी परियोजना र धेरै महान खेलाडीहरूको साथ भएको क्लबको एक अंश हुन पाउँदा गर्व लागेको छ,' रामोसले थपे, 'पीएसजीले एक उच्च स्तरीय क्लब भएको प्रमाणित गरिसकेको छ । म टिमलाई जित दिलाउन मद्दत गर्न चाहन्छु । सम्भव भए धेरै उपाधिहरु ।'
स्पेनिस सेन्टर ब्याक रामोसले गत जुनको अन्त्यसँगै रियल छाडेका थिए ।
३५ वर्षीय डिफेन्डर रामोसले १६ वर्ष क्लबमा बिताएर रियल छाडेका हुन् । सन् २००५ मा सेभियाबाट उनी रियल आएका थिए ।
रियलमा लिजेण्ड खेलाडीको पहिचान बनाएका उनले क्लबका ६ सय ७१ खेल खेलेका छन् ।
रियलका लागि १ सय १ गोल गरेका रामोसले ४० असिस्ट गरेका छन् ।
रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते ।
फिफा क्लब विश्वकप र स्पेनिस सुपर कप ४/४ पटक जित्दा यूईएफए सुपर कप ३ पटक जितेका छन् । यस्तै कोपा डेल रे दुई पटक जितेका छन् ।