एजेन्सी । स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् ।
बिहीबार पीएसजीले रामोसलाई अनुबन्धित गरिएको जनाएको छ ।
रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर रामोसले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।
रामोस २०२३ को जुन ३० सम्म पीएसजीमा रहने छन् ।
रामोसले पीएसजीमा ४ नम्बरको जर्सी लगाउने छन् ।

स्पेनिस सेन्टर ब्याक रामोसले गत जुनको अन्त्यसँगै रियल छाडेका थिए ।
३५ वर्षीय डिफेन्डर रामोसले १६ वर्ष क्लबमा बिताएर रियल छाडेका थिए ।
सन् २००५ मा सेभियाबाट उनी रियल आएका थिए ।
रियलमा लिजेण्ड खेलाडीको पहिचान बनाएका उनले क्लबका ६ सय ७१ खेल खेलेका छन् ।
रियलका लागि १ सय १ गोल गरेका रामोसले ४० असिस्ट गरेका छन् ।
रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते ।
फिफा क्लब विश्वकप र स्पेनिस सुपर कप ४/४ पटक जित्दा यूईएफए सुपर कप ३ पटक जितेका छन् ।
यस्तै कोपा डेल रे दुई पटक जितेका छन् ।