एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा भईरहेको छ ।
वेम्बली स्टेडियममा जारी इंग्ल्यान्ड र डेनमार्कबीचको खेल अतिरिक्त समयमा गएको छ ।
खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो ।
खेलमा सुरुवाती अग्रता भने डेनमार्कले बनाएको थियो । ३० औं मिनेटमा युवा खेलाडी मिकेल डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । बक्सको ठिक बाहिरबाट २१ वर्षीय डाम्सगार्डले उत्कृष्ट गोल गरेका थिए ।

तर, खेलको ३९ औं मिनेटमा डेनमार्कका सिमोन किएरले आत्मघाती गोल गरेपछि इंग्ल्यान्डले १-१ गोलको बराबरी गरेको हो । इंग्ल्यान्डका बुकायो साकाको क्रसमा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।
आज इंग्ल्यान्ड र डेनमार्क फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।
