एजेन्सी । इजिप्टका फरवार्ड मोहमद सलाहले जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्न नपाउने भएका छन् ।
इंग्लिस क्लब लिभरपुलले रिलिज नगरेपछि सलाहले ओलम्पिक खेल्न नपाउने भएका हुन् ।
इजिप्ट एफएले सलाहले ओलम्पिक खेल्न चाहेको भएपनि क्लबबाट अनुमति नपाएको जनाएको छ ।
'उनको बारेमा हामीले लामो समयबाट कुरा गरिरहेका थियौं । किनकि सलाह ओलम्पिक खेल्न चाहन्थे । तर, लिभरपुल अस्पष्ट थियो,' इजिप्ट एफएका पूर्व सदस्य अहमेद मेगाहेडले भने, 'उनलाई अनुमति नमिल्नेबारे हामीलाई थाहा थियो । हामी उनीहरुको निर्णयलाई सम्मान गर्छौ ।'
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । ओलम्पिकमा यू-२३ टोलीले खेल्ने भएपनि ३ जना सिनियर खेलाडी राख्न पाउने नियम रहेको छ ।
इजिप्टका मुख्य प्रशिक्षक घरिबले पनि सलाहलाई टिम राख्न असफल भएको बताए ।
'मैले लिभरपुलसँग धेरै पटक प्रयास गरे । इजिप्ट एफएले पनि उनलाई ओलम्पिक टिमको हिस्सा बनाउन प्रयास गर्यो तर उनीहरूले पूर्ण रूपमा इन्कार गरे,' घरिबले भने ।