एजेन्सी । अस्पतालबाट डिस्चार्ज भएपछि डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन पहिलो पटक सार्वजनिक स्थलमा देखिएका छन् ।
हृदयघातपछि पहिलो पटक सार्वजनिक स्थलमा देखिएका एरिक्सनले एक समर्थकसँग तस्बिर खिचाएका छन् । एरिक्सनले बियोन बेन्जेस नाम गरेका एक युवा समर्थकसँग तस्बिर खिचाएका हुन् ।
हृदयघातको कारण अस्पताल भर्ना भएका एरिक्सन जुन १८ मा डिस्चार्ज भएका थिए ।
युरोकप फुटबल अन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर मैदानमा ढलेपछि एरिक्सनलाई अस्पताल भर्ना गरिएको थियो ।
फिनल्याण्डविरुद्ध ४३ औं मिनेटमा एरिक्सन अचेत भएर मैदानमा ढल्न पुगेका थिए । इन्टर मिलानका २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । उक्त खेलमा डेनमार्क १-० ले पराजित भएको थियो ।
एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) समेत जडान गरिएको छ ।