एजेन्सी । इंग्ल्यान्डका कप्तान ह्यारी केनले ठुलो खेलमा उत्कृष्ट खेल पस्किदा टिमले युरोकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको बताएका छन् ।
इटालीको रोममा शनिबार राति युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।
'ठुलो खेलमा कस्तो राम्रो प्रदर्शन भयो,' कप्तान केनले भने, 'चार गोल अनि क्लिन सिट । हाम्रो लागि यो उत्तम रात हो ।'
इंग्ल्यान्डको जितमा कप्तान केनले दुई गोल गरेका थिए । २७ वर्षीय कप्तान केनले ५९ खेलमा इंग्ल्यान्डका लागि ३७ गोल गरिसकेका छन् ।
यस्तै ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरेका थिए ।
'हामीलाई धेरै दबाब रहेको थियो । हामी यस खेल जित्न चाहन्थ्यौ । हामीले राम्रो गर्यौं,' कप्तान केनले थपे ।
अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।
चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान बनाएको हो ।