एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल अन्तर्गत अहिले चेक रिपब्लिक र डेनमार्कबीच प्रतिस्पर्धा भईरहेको छ ।
बाकु ओलम्पिक स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा डेनमार्कले २-० गोलको अग्रता बनाएको छ ।
खेलको पाँचौं मिनेटमा थोमस डेलानेले हेडरमार्फत गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए । लार्सेनको कर्नरमा अनमार्क रहेका उनले उत्कृष्ट हेडर गोल गरे ।
त्यसपछि खेलको ४२ औं मिनेटमा कास्पर डोलवर्गले गोल गर्दै डेनमार्कलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका छन् । उनले जोकिम माहेलको पासमा गोल गरेका हुन् ।

आज चेक रिपब्लिक र डेनमार्क जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा रहेका छन् ।
चेक रिपब्लिकले प्रि-क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराएको थियो । चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्समाथि २-० गोलको जित निकालेको थियो ।
डेनमार्कले भने प्रि-क्वाटरफाइनलमा वेल्सलाई फराकिलो अन्तरले हराएको थियो । १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम आठको यात्रा तय गरेको हो ।