एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो क्वाटरफाइनलमा अहिले बेल्जियम र इटालीबीच प्रतिस्पर्धा भईरहेको छ ।
जर्मनीको एलिनाज स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इटालीले २-१ गोलको अग्रता बनाएको छ ।
खेलको ३० औं मिनेटमा निकोलो बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए । मार्को भेराट्टीको पासमा उनले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे ।
त्यसअघि खेलको १३ औं मिनेटमा इटालीका लियोनार्दो बुनिचीको गोलले मान्यता पाएन । भीएआरबाट बुनिची अफसाइड देखिएका थिए ।

खेलको ४४ औं मिनेटमा लोरेन्जो इन्सिनेले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै २-१ को स्थितिमा ल्याए ।
आज बेल्जियम र इटाली जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेका छन् । विजेताले सेमिफाइनलमा स्पेनसँग खेल्ने छन् ।
फिफा वरीयताको शीर्ष स्थानको बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो ।
प्रि-क्वाटरफाइनलमा बेल्जियमले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
बलियो देखिएको इटालीले क्वाटरफाइनलमा प्रवेश गर्ने क्रममा अष्ट्रियालाई हराएको थियो । प्रि-क्वाटरफाइनलमा इटालीले अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो ।