एजेन्सी । रसियन क्लब स्पार्टक मस्कोले प्रिमियर लिग क्लब चेल्सीका विंगर भिक्टर मोसेसलाई स्थायी खेलाडीको रुपमा अनुबन्धित गरेको छ ।
मस्कोले शुक्रबार मोसेससँग स्थायी खेलाडीको रुपमा सम्झौता भएको जनाएको छ ।
३० वर्षीय मोसेसले मस्कोसँग दुई वर्षको सम्झौता गरेका छन् ।
नाइजेरियन विंगर गत सिजन लोनमा मस्को आएका थिए । मस्कोमा उनले गत सिजन २० खेल खेलेका थिए ।
विगन एथ्लेटिक्सबाट सन् २०१२ मा चेल्सी आएका मोसेसले पछिल्लो अधिकांस समय लोनमा खेल्दै आएका छन् ।
उनले प्रिमियर लिग क्लब लिभरपुल, स्टोक सिटी, वेस्ट ह्याम र इटालियन क्लब इन्टर मिलानबाट लोनमा खेलेका थिए ।
चेल्सीका लागि मोसेसले १ सय २८ खेलमा १८ गोल गरेका थिए । चेल्सीबाट उनले प्रिमियर लिग र एफए कप जितेका छन् ।
सन् २०१८ को विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका उनले नाइजेरियाका लागि ३८ खेलमा १२ गोल गरेका छन् ।
