एजेन्सी । जर्मनीका मिडफिल्डर टोनी क्रुसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
३१ वर्षीय क्रुसले शुक्रबार ११ वर्षे अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
क्रुसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दै क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।
स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर क्रुसले जर्मनीका लागि १ सय ६ खेलमा १७ गोल गरेका छन् ।
विश्वकप विजेता टिमका सदस्य क्रुस २०१० देखि जर्मन टिमका नियमित सदस्य रहदै आएका थिए ।
अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेलबाट उनले डेब्यु गरेका थिए ।
जर्मनीले सन् २०१४ को विश्वकप जित्दा उनी टिममा रहेका थिए ।

युरोपमा जारी १६ औं संस्करणको युरोकपमा उनले ४ खेल खेलेका थिए । तर, गोल गर्न भने असफल भएका थिए ।
यस संस्करणको युरोमा जर्मनी प्रि-क्वाटरफाइनलमा इंग्ल्यान्डसँग २-० ले पराजित भएको थियो ।
क्रुस २०१४ मा जर्मन क्लब बायर्न म्युनिखबाट रियल आएका थिए । त्यसयता उनी रियलको महत्वपूर्ण खेलाडीको रुपमा रहदै आएका छन् ।

