माई सेकेण्ड टिचरद्धारा क्रिकेटरलाई पुरस्कार हस्तान्तरण
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको जर्सीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले नेपाली क्रिकेट टिम र ४ खेलाडीलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
माई सेकेण्ड टिचरले गत बैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच भएको त्रिदेशीय क्रिकेट सिरिजको विजेता टिम नेपाल र उक्त सिरिजबाट राष्ट्रिय टिममा डेब्यु गरका ४ खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको हो ।
माई सेकेण्ड टिचरले प्रोत्साहन र सम्मान स्वरुप नेपाली क्रिकेट टोलीलाई ५ लाख र डेब्यु गरेका ४ खेलाडीलाई जनही १/१ लाख प्रदान गरेको हो । प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार हस्तान्तरण गरिएको हो ।
त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेदरल्यान्ड्समाथि १ सय ४२ रनको कीर्तिमानी जित निकाल्दै नेपालले सिरिजमा कब्जा जमाएको थियो ।
उक्त सिरिजबाट कुशल भुर्तेल, आशिफ शेख, शाहब आलम र कमल सिंह ऐरीले डेब्यु गरेका थिए ।
खेलाडीलाई पुरस्कार प्रदान गरेपछि इन्नोभेट टेकका संस्थापक अध्यक्ष श्री सुलभ बुढाथोकीले खेलाडीको प्रदर्शनबाट गौरबशाली अनुभव भएको बताए ।
'ट्राइ नेशन सिरिजमा नेपालको उत्कृष्ट प्रर्दशन देख्दा निकै नै गर्वशाली महसुस भएको छ । नेपाली क्रिकेट टोलीको खेलको स्तरोन्नति र खेलाडीहरुको आत्मविश्वास देख्दा अन्तराष्ट्रिय खेलकुद जगत्मा नेपाल चाडैँ नै फस्टाउने कुरामा निकै आशावादी रहेको छु,' उनले भने, 'माई सेकेण्ड टिचरले नेपाली शैक्षिक क्षेत्रको मात्रै नभई नेपाली खेल जगत्को स्तरोन्नति तथा नेपाली खेलाडीको मनोबल उच्च गराउन आगामी दिनहरुमा पनि विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरी खेलकुद क्षेत्रमा आमुल परिवर्तन ल्याउने कुरामा प्रतिबद्ध रहेको छ ।'
नेपालका कप्तान ज्ञानेन्द्र मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आउँदो दिनहरुमा पनि नेपालको प्रर्दशन विशिष्ट र सन्तोषजनक रहने बताए ।