काठमाडौं । फुटबल एकेडेमी संचालनको लागि अखिल नेपाल फुटबल क्लब (एन्फा), संकटा क्लब र नेक्सस स्कुलबीच सम्झौता भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार एन्फा, 'ए' डिभिजन क्लब संकटा र नेक्ससबीच त्रिपक्षीय सम्झौता भएको हो ।
एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्रमान सिंह, संकटा क्लबका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिख्राकार र नेक्सस स्कुलका प्रिन्सिपल आरबी कटुवालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौतासँगै नेक्सस-संकटा युथ फुटबल एकेडेमी संचालनमा आउने भएको छ ।
एकेडेमीमा संकटा क्लबका ७ र नेक्सस स्कुलका ७ युवा खेलाडी रहने छन् । १४ खेलाडीले संकटा क्लबको मैदानमा प्रशिक्षण गर्नेछ भने नेक्सस स्कुलले पढाइका लागि छात्रवृत्ति प्रदान गर्ने छ । दोस्रो वर्षबाट कुल २१ खेलाडीमध्ये संकटाले १४ खेलाडी उपलब्ध गराउने एन्फाले जनातेको छ ।
यससँगै संकटा क्लब एकेडेमी संचालन गर्ने विभाग बाहिरका पहिलो क्लब बनेको छ ।
यस अघिनै त्रिभुवन आर्मी क्लब, एपीएफ र पुलिस क्लबले एकेडेमी संचालन गरिसकेको छ ।
एसियाली फुटबल महासंघ(एएफसी)को कार्यक्रम अनुसार संकटाले एकेडेमी संचालनमा ल्याउन लागेको हो ।
एएफसीले एएफसी लाईसेन्स प्राप्त गर्न क्लबले एकेडेमी अनिवार्य संचालन गर्नु पर्ने नियम बनाएको छ ।