एजेन्सी । फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसकेकोमा माफी मागेका छन् ।
युरोकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत सोमबार राति स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा एमबाप्पे गोल गर्न असफल भएका थिए ।
एमबाप्पे गोल गर्न चुकेपछि फ्रान्स पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । एमबाप्पेको पेनाल्टी प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले रोकेका थिए ।
'म त्यो पेनाल्टीको बारेमा माफी चाहन्छु । म टोलीलाई सहयोग गर्न चाहन्थे तर असफल भए,' एमबाप्पेले इन्स्टाग्राममा लेखेका छन् ।
रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा भने स्विट्जरल्यान्डले बाजी मारेको थियो ।
'त्यसपछि मलाई सुत्न धेरै गार्हो भयो । दुर्भाग्यवश यो खेलको उतार चढाव हो । जुन म धेरै माया गर्दछु,' एमबाप्पेले लेखेका छन् ।
विश्वकप विजेता टोलीका सदस्य एमबाप्पेले महत्वपूर्ण कुरा भविष्यमा थप बलियो र प्रतिबद्ध भएर आउनु रहेको समेत बताए ।
उनले स्विस टोलीलाई बधाई समेत दिएका छन् ।
