एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमानी बनाएका छन् ।
मेस्सीले पूर्व मिडफिल्डर जेभियर मास्चिरानोको नाममा रहेको १ सय ४७ खेलको कीर्तिमान भङ्ग गरेका हुन् । ३७ वर्षीय मास्चिरानोले २०१८ मा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरिसकेका छन् ।
ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गत बोलिभियाविरुद्धको खेलसँगै मेस्सीले मास्चिरानोको कीर्तिमान तोडेका हुन् । यस खेलसँगै मेस्सीले अर्जेन्टिनाका लागि १ सय ४८ खेल पूरा गरे ।
बोलिभियामाथि ४-१ गोलको जित निकाल्दा कप्तान मेस्सीले दुई गोल समेत गरे ।
३३ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि १ सय ४८ खेलमा ७७ गोल गरिसकेका छन् ।
मेस्सीको कप्तानीमा अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरसँग खेल्नेछ ।