काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक 'ए' डिभिजन लिग र राष्ट्रिय लिग संगै संगै लैजाने प्रस्ताव गरेको छ ।
सोमबार एन्फा हेडक्वार्टरमा बसेको बैठकमा लिग कमिटिले 'ए' डिभिजन र राष्ट्रिय लिग समानान्तर रुपमा सञ्चालन गर्ने प्रस्ताव अघि सारेको हो ।
'ए' डिभिजनका १४ क्लब समक्ष एन्फाले प्रस्ताव गरेपनि अधिकांश क्लबले सहमति जनाएनन् ।
अघिकांश क्लबले दुईवटा लिग संगै लैजाने प्रस्ताव फुटबलको हितमा नहुने र कोरोना महामारीका समय सम्भव नहुने बताएका थिए ।
कोरोनाका कारण गत सिजनको 'ए' डिभिजन लिग र राष्ट्रिय लिग रोकिएको थियो । गत वर्ष स्थगित भएको राष्ट्रिय लिगलाई एन्फाले यसवर्ष 'ए' डिभिजनसंगै अघि बढाउने तयारी गरेको हो ।
एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार क्लबलाई राष्ट्रिय लिगमा मौका दिने एन्फाको तयारी छ । एन्फाले जिल्ला, प्रदेश हुँदै एन्फा प्रेसिडेन्ट लिगबाट शीर्ष चारमा उक्लिएका क्लबलाई राष्ट्रिय लिगका लागि छनोट गरेको छ ।
गत सिजनको 'ए' डिभिजन लिग विजेता मछिन्द्र क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लबले राष्ट्रिय लिगमा प्रतिनिधित्व गर्नेछन् ।
यस्तै, नेपालगंन्जमा आयोजना भएको प्रेसिडेन्ट कपबाट सुदुरपश्चिमको स्टार सिटी युवा क्लब (कैलाली), लुम्बिनी प्रदेशको धम्बोझी क्लब (नेपालगंज), प्रदेश नम्बर २ को मनकामना युवा क्लब (रौतहट), गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब (लमजुङ) राष्ट्रिय लिगका लागि छनोट भएका थिए ।
एन्फाले सोमबार क्लबलाई प्रस्ताव गरेको ‘एन्फा लिग तालिकामा २०७८ (२०२१–२२)’ खाका (ड्राफ) मा ६ महिनाको 'ए' डिभिजन र राष्ट्रिय लिग रहेको छ । अन्तराष्ट्रिय खेल र नेपाली चाड पर्वलाई समेत ध्यानमा राखेर केही समय दुवै लिगलाई रोकेर मोफसल प्रतियोगिता आयोजना हुने जनाइएको छ ।
एन्फाले प्रस्ताव गरेको तालिकामा साफ च्याम्पियनसिप, एएफसी महिला च्याम्पियनसिप छनोट लगत्तै राष्ट्रिय लिग हुने जनाईएको छ । राष्ट्रिय लिग सुरु भएपछि मात्रै 'ए' डिभिजन लिग सुरु हुने तालिका बनाएको छ ।
पूर्व निर्धारित तालिकामा भदौ ३० गतेबाट राष्ट्रिय लिग सुरु हुनेछ । यस्तै, असोज ३ बाट शीर्ष डिभिजनको लिग आयोजना हुनेछ ।
यस्तै, असोज १४ बाट २३ सम्म मोफसल प्रतियोगिता हुँदा राष्ट्रिय टिम अभ्यास, फिफा डे र दशै पर्व विदालाई हेरेर असोज ३० सम्म दुवै लिगलाई रोकिएको छ ।
पुनः कार्तिक २ बाट दुबै लिग सुरु हुँदा कार्तिक १८–२० लाई तिहार बिदा दिइएको छ । त्यसपछि मोफसल र फिफा डेलाई २१ गतेबाट ३० गतेसम्म समय दिएको छ ।
यसपछि पुनः मंसिर ३ बाट दुबै लिग सुरु भई माघ ६ गते मात्रै रोकिने छ । यसपटक समेत मोफसल, फिफा डे र पुनः मोफसल गरि माघ ६ बाट माघ २८ सम्म लिग रोकिएको छ ।
माघ २८ बाट पुनः सुरु हुने लिग फागुन २४ मा रोकिने छ । फागुन २७ बाट चैत्र १२ गते सम्म पुन : मोफसललाई समय दिएको छ । यस पछिका केहि खेलको तालिका भने निकालिएको छैन ।
तर, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्षद्वय शिक्षित पराजुली र उपेन्द्रमान सिंह, महासचिव इन्द्रमान तुलाधर, सह–महासचिव अरुणमान जोशी र लिग कमिटीका प्रतिनिधि सम्मिलित बैठकको प्रस्तावलाई 'ए' डिभिजन लिगका अधिकांश क्लबले अस्विकार गरेका छन् ।
विशेष गरि शीर्ष ६ मा नरहने क्लबले दुवै लिगसँगै हुँदै खेलाडी अनुबन्धको समय धेरै हुने र लिग भरी कोरोना मापदण्ड अनुसार खेलाडीलाई पाल्न गाह्रो हुने बताएका थिए । केही क्लबले भने दुबै लिग एकै पटक हुँदा लिगको रौनक र अस्तित्वनै नरहने प्रतिक्रिया दिएका थिए ।
केहि क्लबले भने खेलाडीनै लामो समयका लागि नपाउने बताएका थिए ।
शीर्ष ६ बाहिरका क्लबले भने बीचको विश्रामको समयमा मोफसलले समेत ठुला क्लबलाई मात्रै सहभागिताका लागि पत्र पठाउने र आफुलाई सो पत्र नआउने भएकाले खेलाडी लामो समय राख्दा क्लबलाई आर्थिक भार पर्ने बताएका थिए ।
जावलाखेल युथ क्लबले भने दुवै लिग एकै पटक भए आफुले नाम समेत फिर्ता लिने बताएको स्रोतले खेलपाटीलाई बतायो ।
उसले क्लबलाई कारबाही नभए नाम फिर्ता लिने बताएको एक बैठकमा सहभागी क्लबमा एक प्रतिनिधिले भने ।
‘केहि क्लब खेल्ने मनसायमै रहँदा कुनैले एकैपटक दुई लिग हुँदा रौनक नहुने र यस्तो प्रस्ताव मान्य नहुने बताएका थिए । जावलाखेलले भने कारबाही नभए आफु राष्ट्रिय लिगबाट बाहिर रहने बतायो ।’ उनले भने ।
बैठकमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र नयाँ क्लब सातदोबाटोले भने कुनै प्रतिक्रिया दिएनन् ।
शीर्ष ६ का मनाङ र मछिन्द्र क्लब एन्फाको प्रस्तावमा सकारात्मक देखिए ।
यद्धपी बैठकमा सहभागी मछिन्द्र क्लबका प्रतिनिधि तथा ब्यवस्थापक अनिल श्रेष्ठले एन्फाको प्रस्ताव फुटबल मर्म विपरित भएको बताए ।
‘फुटबल हुनु राम्रो हो । तर दुवै लिग एकैपटक हुँदा क्लब र एन्फालाई फाइदा पुग्ला तर फुटबल फ्यानलाई यसले राम्रो गर्दैन । फुटबल फ्यानले राष्ट्रिय लिग र ए डिभिजन लिग फरक फरक तरिकाले हेर्छन् । फरक खेलाडी फरक क्लबमा भएको हेर्न चाहन्छन् । राष्ट्रिय लिगलाई त अझ मोफसलमा पुर्याएर होम एण्ड अवे गराउनु पर्छ । फुटबल विकास चाहने हो भने राष्ट्रिय लिग मोफसलमा पुर्याएर होम एण्ड अवे गराउनु पर्छ । म क्लबको प्रतिनिधि हुँ तर ब्यक्तिगत रुपमा यस्तो प्रस्ताबमाथि सहमत हुने छैन ।’ मछिन्द्रका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने ।
अर्को क्लब थ्रीस्टारले समेत कोरोना महामारीबीच एकमात्रै लिग गराउन आग्रह गरेको थियो । उसले राष्ट्रिय लिग र 'ए' डिभिजन लिगसँगै लैजादा लिगको आकर्षण घट्ने, कोरोना समय लामो लिग गराउँदा सम्भव नभएको प्रतिक्रिया दिएको थियो ।
थ्री स्टारले शीर्ष ६ बाहिर क्लबलाई पनि लिग रोकिएको समयमा मोफसलमा खेल्ने बातावरण मिलाईदिन एन्फालाई प्रस्ताव गरेको थियो ।
‘लिग लामो समय हुनु राम्रो हो । तर सबै क्लबलाई मिलाएर लैजानु पर्छ । कोरोना समय छ । सबै क्लबको आर्थिक स्थिती बलियो छैन । समय ठिक छैन । खेलाडीले अझै खोप लगाएका छैनन् । अधिकांश क्लबले लिगको विश्राम समय मोफसल चलिरहँदा हामीलाई पत्र आउँदैन, त्यो समय हामी के गर्ने भन्ने कुरा छ । त्यसैले सबैलाई मिल्ने गरि लैजान पर्यो भन्ने हाम्रो मान्यता हो ।’ क्लबका प्रतिनिधिले भने ।
अधिंकाश क्लबले एन्फाको प्रस्ताव अमान्य र फुटबल मर्म विपरित भएको बताएसँगै एन्फाले पुनः अर्को बैठक बोलाउने र सो बिषयमा छलफल हुने बताएको छ ।
‘सहभागी क्लबलाई ए डिभिजन लिग र राष्ट्रिय लिग सँगै गर्न प्रस्ताव गरेका थियौं । बाहिरका चार टोलीलाई पनि सँगै राखेर पुनः बैठक बस्नेछौं ।’ एन्फा लिग निर्देशक संजिब मिश्रले खेलपाटीसँग भने ।