काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत भोलि (मंगलबार) बिहान दुई खेलहरु हुँदैछन् ।
कोपा अन्तर्गत मंगलबार बिहान समूह चरणको अन्तिम दुई खेल हुन लागेको हो । एकै समयमा हुने खेलमा अर्जेन्टिना र बोलिभिया तथा उरुग्वे र पाराग्वे प्रतिस्पर्धा गर्ने छन् ।
एरिना पन्टानलमा शीर्ष स्थानको अर्जेन्टिनाले बोलिभियासँग खेल्नेछ । दुई टिमबीचको खेल बिहान ५:४५ बजे सुरु हुनेछ ।
समूह 'ए' को अर्जेन्टिना जित निकाल्दै समूहको शीर्ष स्थानसहित क्वाटरफाइनलमा पुग्न चाहन्छ । यस अघि नै क्वाटरफाइनलमा पुगेको अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ ।
बोलिभिया यस अघि नै बाहिरिसकेको छ । तर, अन्तिम खेलमा अर्जेन्टिनालाई हराएर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । अंक विहीन बोलिभिया पुछारमा रहेको छ ।
अर्को खेलमा क्वाटरफाइनलमा पुगिसकेका दुई टिम उरुग्वे र पाराग्वे भिड्ने छन् । खेल बिहान ५:४५ बजे सुरु हुनेछ ।
उरुग्वे ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । पाराग्वेलाई हराएर उरुग्वे समूहको दोस्रो स्थानमा रहदै क्वाटरफाइनलमा पुग्न चाहन्छ ।
पाराग्वे ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पाराग्वे पनि समूह चरणको अन्तिम खेलमा उरुग्वेलाई पराजित गर्न चाहन्छ ।