एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत नकआउट चरणको चौंथो खेलमा अहिले बेल्जियम र पोर्चुगलबीच प्रतिस्पर्धा भईरहेको छ ।
स्पेनको सेभियामा जारी खेलको पहिलो हाफ सकिदा बेल्जियमले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ४२ औं मिनेटमा थोर्गन हाजार्डले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका हुन् । थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

आज दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यमा रहेका छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछन् ।
बेल्जियम समूह 'बी' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो ।
पोर्चुगलले ग्रुप अफ डेथ मानिएको समूह 'एफ' बाट नकआउट चरणमा स्थान बनाएको हो । पोर्चुगलले समूह चरणमा ३ खेलमा ४ अंक जोडेको थियो । पोर्चुगल समूहको तेस्रो स्थानमा रहेको थियो । तर, पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।
