एजेन्सी । उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पुस्कास एरिनामा चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो । खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको हो ।
बक्स बाहिर हातले बल रोकेपछि रेफ्रीले भीएआरको सहायताबाट उनलाई रातो कार्ड दिएर मैदानबाट बाहिर पठाएका थिए । भीएआर अघि उनलाई पहिलो कार्ड मात्र दिईएको थियो ।

नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएपछि चेक रिपब्लिकले फाईदा उठायो ।
खेलको ६८ औं मिनेटमा टोमसले गोल गर्दै चेक रिपब्लिकलाई १-० को अग्रता दिलाए । टोमस कालसको पासमा उनले हेडरमार्फत गोल गरे ।
त्यसपछि खेलको ८० औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेक रिपब्लिकलाई २-० को जित दिलाए । उनले टोमस होल्सको पासमा गोल गरेका हुन् ।
जारी युरोकपमा शिकको यो चौंथो गोल हो ।

अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई ४-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।
यस अघि नेदरल्यान्ड्सले समूह 'सी' को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको थियो । समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो ।
चेक रिपब्लिकले समूह 'डी' बाट नकआउट चरणमा स्थान बनाएको थियो । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको हो ।

