एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत नकआउट चरणको चौंथो खेलमा आज (आइतबार) राति बेल्जियम र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ ।
स्पेनको सेभियामा हुने बेल्जियम र पोर्चुगलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछन् ।
बेल्जियमविरुद्ध मैदान उत्रदा पोर्चुगल कप्तान क्रिस्टियानो रोनाल्डो सबैको नजरमा पर्ने छन् । रोनाल्डो समूह चरणमा समेत सर्वाधिक चर्चामा रहेका थिए । किनकी उनले समूह चरणमा केहि कीर्तिमानहरु बनाए ।

३६ वर्षीय रोनाल्डो बेल्जियमविरुद्ध मैदान उत्रदा अर्को कीर्तिमानतर्फ अग्रसर हुने छन् । बेल्जियमविरुद्ध गोल गरेका रोनाल्डोले अर्को कीर्तिमान बनाउने छन् ।
बेल्जियमविरुद्ध गोल गरेमा रोनाल्डो पुरुष फुटबलमा सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने खेलाडी बन्ने छन् ।
रोनाल्डोले समूह चरणमा पाँच गोल गर्दै इरानका पूर्व स्टार अली दाइको नाममा रहेको १ सय ९ अन्तराष्ट्रिय गोलको कीर्तिमानसँग बराबरी गरेका थिए । रोनाल्डोले १ सय ७८ खेलमा १ सय ९ गोल गरेका छन् । अब एक गोल गरे रोनाल्डोले दाइको कीर्तिमान भङ्ग गर्ने छन् ।
इरानी दाइले सन् १९९३ देखि २००६ सम्म इरानका लागि खेल्दै १ सय ९ गोलको कीर्तिमान बनाएका थिए ।
अन्तराष्ट्रिय फुटबलमा राष्ट्रको लागि सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान भने क्यानडाकी क्रिस्टिन सिन्क्लेयरको नाममा रहेको छ । उनीले १ सय ८६ अन्तराष्ट्रिय गोल गरेकी छिन् ।
रोनाल्डोले यस अघि बनाएको कीर्तिमान :
युरोकपमा सर्वाधिक गोल -
रोनाल्डोले यस संस्करणबाट युरोकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए ।
रोनाल्डोले फ्रान्सेली लिजेण्ड मिचेल प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।
जारी प्रतियोगिताको ३ खेलमा ५ गोल गरिसकेका रोनाल्डोले युरोकपमा आफ्नो गोल संख्या १४ पुर्राएका छन् ।
रोनाल्डोले प्लाटिनीको कीर्तिमान तोड्न पाँच युरोकप खेल्नु परेको छ । एकै संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान प्लाटिनीको नाममा रहेको छ । उनले एकै संस्करण (सन् १९८४) मा ९ गोल गरेका थिए । रोनाल्डोलाई यस युरोकप प्लाटिनीको कीर्तिमान तोड्ने अवसर रहनेछ ।
पाँच संस्करणको युरोकप खेल खेलाडी -
रोनाल्डो पाँच फरक संस्करणको युरोकप खेल्ने पहिलो खेलाडी हुन् । समूह चरण अन्तर्गत हंगेरीविरुद्ध मैदान उत्रदै रोनाल्डोले पाँच संस्करणको युरो खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।
रोनाल्डोले यस अघि चार संस्करणको युरोकप खेलेका थिए । रोनाल्डोले पहिलो पटक सन् २००४ को युरोकप खेलेका थिए । त्यसपछि उनले २००८, २०१२ र २०१६ को संस्करण खेलेका छन् । २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि जितेको थियो ।
पाँचै संस्करण गोल -
रोनाल्डो लगातार पाँच संस्करणमा गोल गर्ने खेलाडी समेत हुन् । रोनाल्डोले डेब्यु संस्करणमा २ गोल गरेका थिए । त्यसपछिको तीन संस्करणमा क्रमश १,३ र ३ गोल गरेका थिए ।
यस संस्करणमा भने रोनाल्डोले ५ गोल गरिसकेका छन् । उनले हंगेरी र फ्रान्सविरुद्ध दुई दुई गोल गर्दा जर्मनीविरुद्ध एक गोल गरेका हुन् ।
दुई ठुला प्रतियोगिता सर्वाधिक गोल -
रोनाल्डोले दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भङ्ग गरेका हुन् ।
फ्रान्सविरुद्धको दुई गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २१ औं गोल पूरा गरे । रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन् ।
यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए । जर्मनीका लिजेण्ड गर्ड मुलर १८ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् ।