एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा आज (शनिबार) राति वेल्स र डेनमार्क भिड्दै छन् ।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।
डेनमार्क समूह 'बी' को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । समूह चरणमा डेनमार्कले ३ खेलमा ३ अंक जोडेको थियो ।
'हामीले राम्रोसँग तयारी गरेका छौं र हामी यसका लागि तत्पर छौं,' डेनमार्कका प्रशिक्षक कास्पर भन्छन्, 'वेल्स र उनीहरूले गरेका कामलाई सम्मान गर्दछु । उनीहरू आफ्नो देशको प्रतिनिधित्व गर्नमा गर्व गर्छन र हामीलाई थाहा छ वेल्सको टिममा धेरै गुणहरू छ तर हामी पनि त्यस्तै छौं ।'
समूह चरणको पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा डेनमार्कले बेल्जियमसँग २-१ ले पराजित भएको थियो । तर, अन्तिम खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बनेको हो ।
वेल्सविरुद्ध मैदान उत्रदा डेनमार्कलाई खेलाडी चोटको समस्या हुने छैन । तर, मिडफिल्डर क्रिस्टियन एरिक्सनको अभाव देखिने छ ।

वेल्स समूह 'ए' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो ।
'हामी लडाईको लागि तयार छौँ । किनकी यो एक लडाई हुनेछ,' वेल्सका प्रशिक्षक रोबर्ट पेजले भने, 'उनीहरुको पछिल्लो खेल हेरेको छु । डेनमार्कले राम्रो गरिरहेका छन् । हाम्रो राम्रो खेल खेल्ने छौँ ।'
समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा वेल्स इटालीसँग १-० ले पराजित भएको थियो ।
नकआउट चरणमा वेल्सलाई पनि चोटको समस्या छैन । तर, रेड कार्डको कारण इथान अम्पाडुले डेनमार्कसँगको खेल गुमाउने छन् ।
डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ ।
प्लेयर्स टु वाच -
ग्यारेथ बेल - वेल्स
बेल वेल्सका कप्तान हुन् । त्यसैले रियल मड्रिडका विंगर बेलसँगै वेल्सको टिम निर्भर रहनेछ ।
पछिल्लो खेलमा बेल फरवार्ड भन्दा मिडफिल्डर पोजिसनमा खेलिरहेका छन् । उनले गोलका लागि उत्कृष्ट पासहरु निकालिरहेका छन् ।
समूह चरणको तीन खेलमा उनले गोल गर्न सकेका छैनन् । उनले एक पेनाल्टीमा समेत गोल गर्न सकेनन् । तर, डेनमार्कविरुद्ध उनी वेल्सका लागि मुख्य खेलाडी हुनेछन् ।
३१ वर्षीय विंगर पछिल्लो समय लोनमा इंग्लिस क्लब टोटेनहमबाट खेलिरहेका छन् । वेल्सको उमेर समूह हुँदै राष्ट्रिय टिमबाट खेलिरहेका बेलले वेल्सका लागि ९५ खेल खेलिरहेका छन् । जसमा उनले ३३ गोल गरिसकेका छन् ।
मार्टिन ब्रेथवेट – डेनमार्क
वेल्सविरुद्ध डेनमार्कका विंगर मार्टिन ब्रेथवेटले प्रभाव जमाउन सक्छन् । पछिल्ला ३ खेलमा गोल गर्न असफल भएपनि ब्रेथवेटले प्रभावशाली प्रदर्शन गरिरहेका छन् ।
वेल्सविरुद्ध पनि डेनमार्कले उनीसँग आशा राखेको छ । ब्रेथवेटले वेल्सका डिफेन्डरलाई व्यस्त बनाउने अनुमान गरिएको छ ।
विंगर भूमिकामा समेत सहजै खेल्ने मार्टिन स्पेनिस सफल क्लब बार्सिलोनाबाट खेल्ने गर्छन । ३० वर्षीय मार्टिनले डेनमार्कको उमेर समूहमा यू–१७, १९, २१ टोलीबाट खेलिसकेका छन् । मार्टिनले सिनियर टोलीबाट ५३ खेल खेल्दा ९ गोल गरेका छन् ।