एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पुरुष फुटबलमा सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् ।
रोनाल्डोले इरानका पूर्व स्टार अली दाइको नाममा रहेको १ सय ९ अन्तराष्ट्रिय गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
युरोकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध पेनाल्टीमा दुई गोल गर्दै रोनाल्डोले दाइको कीर्तिमानसँग बराबरी गरेका हुन् । उक्त खेल २-१ गोलको बराबरीमा सकिएको थियो ।
३६ वर्षीय रोनाल्डोले १ सय ७८ खेलमा १ सय ९ गोल गरेका हुन् ।
इरानी दाइले सन् १९९३ देखि २००६ सम्म इरानका लागि खेल्दै १ सय ९ गोलको कीर्तिमान बनाएका थिए ।

यस्तै रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान समेत भङ्ग गरेका छन् ।
रोनाल्डोले क्लोजको नाममा रहेको दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान भङ्ग गरेका हुन् ।
रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २१ औं गोल पूरा गरे । ३६ वर्षीय रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन् । यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए ।
जारी युरोमा रोनाल्डोको यो पाँचौ गोल हो । रोनाल्डो युरोकपमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमानी खेलाडी समेत हुन् ।