एजेन्सी । स्विडेन समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा बुधबार राति पोल्याण्डलाई ३-२ गोल अन्तरले पराजित गर्दै स्विडेन समूह विजेता बनेको हो ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सवर्गले दुई गोल गरे । भिक्टर क्लेसनको नाममा एक गोल रह्यो ।
पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा फोर्सवर्गले गोल गर्दै स्विडेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको १७ औं मिनेटमा पोल्याण्डका लेवान्डोस्कीले गोलको सुनौलो अवसर गुमाए । उनको हेडर बल क्रसबारमा लाग्दै फर्किएको थियो । रिबाउन्डमा आएको बलमा उनको दोस्रो हेडर प्रहार पनि पोस्टमा लागेर फर्किएको थियो ।
खेलको ५९ औं मिनेटमा फोर्सवर्गले व्यक्तिगत दोस्रो गोल गर्दै स्विडेनलाई २-० को अग्रता दिलाए ।
६१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई २-१ को स्थितिमा ल्याए ।

खेलको ८४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै पोल्याण्डलाई २-२ को बराबरीमा ल्याए ।
तर, खेलको इन्जुरी समयमा भिक्टरले गोल गर्दै स्विडेनलाई ३-२ गोलको जित दिलाए ।
यस जितसँगै समूह 'ई' को स्विडेनले ३ खेलमा ७ अंक जोड्यो । र, समूहको शीर्ष स्थानमा रह्यो ।
पोल्याण्डले ३ खेलमा १ अंक जोड्यो । पोल्याण्ड समूह चरणबाटै बाहिरिएको छ ।

