एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले स्पेनले स्लोभाकियासँग प्रतिस्पर्धा गरिरहेको छ ।
सेभियामा जारी खेलको पहिलो हाफ सकिदा स्पेनले २-० गोलको अग्रता बनाएको छ ।
स्पेनले स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काको आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ३० औं मिनेटमा मार्टिनले आत्मघाती गोल गरेका हुन् । स्पेनका पाब्लो सराबियाको प्रहार क्रसबारमा लाग्दै फर्किएको बल क्लियर गर्न्ने क्रममा मार्टिनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

त्यसअघि खेलको १२ औं मिनेटमा स्पेनका अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्न सकेनन् । मोराटाको पेनाल्टी प्रहार मार्टिनले बचाएका थिए ।
तर, पहिलो हाफको इन्जुरी समयमा एम्रिक लापोर्टले गोल गर्दै स्पेनलाई २-० को अग्रता दिलाए । स्पेनको लागि उनको यो पहिलो गोल हो ।
लापोर्ट हालै फ्रान्सबाट स्पेन सरुवा भएका थिए । स्पेनको नागरिकता प्राप्त गरेसँगै फिफाले लापोर्टलाई स्पेनबाट अन्तराष्ट्रिय फुटबल खेल्न अनुमति दिएको थियो । २६ वर्षीय डिफेन्डरले यस अघि फ्रान्सको युवा टिमबाट खेलेका थिए । तर, उनले फ्रान्सको सिनियर टिमबाट भने खेल्ने मौका पाएका थिएनन् ।
समूह 'ई' मा रहेको स्पेनलाई नकआउट चरणमा प्रवेश गर्नका लागि यस खेल महत्वपूर्ण रहेको छ ।
स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । स्लोभाकियाविरुद्ध मैदान उत्रदा स्पेन पहिलो जितको खोजीमा समेत हुनेछ ।
पहिलो खेलमा स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो । यस्तै दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।
स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । पहिलो खेलमा पोल्याण्डलाई हराएको स्लोभाकिया दोस्रो खेलमा स्विडेनसँग १-० ले पराजित भएको थियो ।
