एजेन्सी । क्रोएसिया समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३-१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता बनेको हो ।
क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे ।
स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए ।

ह्याम्पडेन पार्कमा पेरिसिचको पासमा निकोलाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।
खेलको ४२ औं मिनेटमा कलुमले गोल गर्दै स्कटल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए । युरोमा स्कटल्याण्डको यो पहिलो गोल हो ।
खेलको ६२ औं मिनेटमा कप्तान मोड्रिचले गोल गर्दै क्रोएसिया २-१ को अग्रता दिलाए । माटियो कोभासिचको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।
त्यसपछि खेलको ७७ औं मिनेटमा पेरिसिचले मोड्रिचको पासमा गोल गर्दै क्रोएसियालाई ३-१ को जित दिलाए ।

यस जितसँगै समूह 'डी' को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो । र, समूह उपविजेता बन्यो ।
स्कटल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । स्कटल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रह्यो ।