एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) राति इंग्ल्यान्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ।
समूह 'डी' मा रहेका इंग्ल्यान्ड र चेक रिपब्लिकबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ।
वेम्बली स्टेडियममा मैदान उत्रदा दुबै टिम जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा हुने छन् ।
इंग्ल्यान्ड र चेक रिपब्लिक दुबै टिम नकआउट चरणमा पुगिसकेका छन् । त्यसैले दुई टोलि समूह विजेताको लागि भिड्ने छन् ।
इंग्ल्यान्ड २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा क्रोएसियालाई १-० गोल अन्तरले गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो ।
चेक रिपब्लिक २ खेलमा ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
प्लेयर्स टु वाच -
रहिम स्ट्रर्लिङ (इंग्ल्यान्ड)
इंग्लिस क्लब म्यानचेस्टर सिटीका अट्याकिङ मिडफिल्डर रहिम स्टर्लिङ चेक रिपब्लिकविरुद्ध प्रभावकारी बन्न सक्छन् । उनले अघिल्ला दुई खेलमा १ गोल गरिसकेका छन् । क्रोएसियाविरुद्धको खेलमा उनले निर्णायक गोल गरेका थिए ।
उमेर समूह होस् या सिनियर टोलीमा स्टर्लिङको प्रदर्शन उत्कृष्ट रहदै आएको छ । जमैकामा जन्मिएका स्टर्लिङ त्यसपछि लण्डन सरेका हुन् । क्विन्स पार्क रेन्जर्सबाट फुटबल सुरु गरेका स्टर्लिङ त्यसपछि लिभरपुलमा आबद्द भएका थिए । लिभरपुलमा रहँदा गोल्डेन ब्वाई अवार्ड पाएका स्टर्लिङ त्यसपछि सिटी आएका हुन् । स्टर्लिङ सिटीले तीन पटक प्रिमियर लिगको उपाधि हात पार्दाका महत्वपूर्ण खेलाडी हुन् ।
स्टर्लिङले इंग्ल्यान्डको यू-१६, १७,१९, २१ टिमबाट समेत खेलिसकेका छन् । राष्ट्रिय टोलीबाट ६३ क्याप जितेका स्टर्लिङले १५ गोल गरेका छन् । बल पकड राख्न, पास उपलब्ध गराउन र लामा प्रहार गर्न माहिर स्टर्लिङ चेकका लागि टाउको दुखाईको विषय बन्न सक्ने छन् ।
प्याट्रिक शिक – चेक रिपब्लिक
चेक रिपब्लिकका युवा अट्याकर हुन् प्याट्रिक शिक । जर्मन बुण्डेस लिगा क्लब बायर लिभरकुसेनबाट व्यवसायिक फुटबल खेलिरहेका उनले जारी प्रतियोगितामा उत्कृष्ट खेलिरहेका छन् ।
प्याट्रिकले २ खेलमा ३ गोल गरिसकेका छन् । त्यसैले उनी इंग्ल्यान्डविरुद्ध प्रभावशाली प्रदर्शन गर्न सक्छन् ।
शारीरिक तथा प्राविधिक रुपमा बलिया प्याट्रिक 'लेफ्ट फुटेट' खेलाडी हुन् । उनी सेन्टर फरवार्ड र राईट विंगरबाट समेत खेल्न सक्छन् । २५ वर्षीय प्याट्रिकसँग स्कटल्याण्डको यू-१६, १७, १८, १९ र २१ टोलीबाट खेलेको अनुभव समेत छ ।
राष्ट्रिय टोलीमा उनले २८ खेल खेल्दा १४ गोल गरेका छन् । प्याट्रिकसँग आरबी लाइपजिग, रोमा र साम्पाडोरियाबाट व्यवसायिक खेल खेलको अनुभव समेत रहेको छ ।