एजेन्सी । स्विट्जरल्यान्डले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ ।
आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३-१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको हो ।
बाकुमा स्विट्जरल्यान्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई गोल गरे । हरिस सेफेरोभीले एक गोल गरे ।
टर्कीका इरफान केभाचीले एक गोल फर्काए ।
खेलको छैटौं मिनेटमा हरिसले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । स्टेभेन जुबेरको पासमा उनले चलाखीपूर्णक गोल गरे ।
२६ औं मिनेटमा शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई २-० गोलको अग्रता दिलाए । उनले जुबेरकै पासमा डिबक्स क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरे ।

खेलको ६२ औं मिनेटमा इरफानले गोल गर्दै टर्कीलाई २-१ को स्थितिमा ल्याए । उनले हकानको पासमा गोल गरेका थिए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा जुबेरको पासमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३-१ को जित दिलाए ।
समूह चरणको अन्तिम खेलमा जित निकालेपनि स्विट्जरल्यान्ड सिधै नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ ।
तर, स्विट्जरल्यान्डको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको छ ।
जसको लागि सबै समूह चरणको खेल सकिनु पर्नेछ ।

समूह 'ए' मा रहेको स्विट्जरल्यान्डले ३ खेलमा ४ अंक जोड्यो । वेल्ससँग गोल अन्तरमा पछि पर्दा स्विट्जरल्यान्ड दोस्रो स्थानमा रहन असफल भएको हो ।
समूह चरणको पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो ।
टर्की भने अंक विहीन बन्दै समूह चरणबाट बाहिरिएको छ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेन । पहिलो खेलमा खेलमा इटालीसँग पराजित टर्की दोसो खेलमा वेल्ससँग पराजित भएको थियो ।
