एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार)रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्दैछ । इटाली र वेल्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
आज इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ ।
इटालीले २ खेलमा ६ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्विजरल्याण्डलाई ३–० गोल अन्तरले नै हराएको थियो ।
वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
प्लेयर्स टु वाच -
म्यानुएल लोकाटेली – इटाली
इटालीका युवा खेलाडी म्यानुएल लोकाटेलीले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । अघिल्ला दुई खेलमा प्रभावशाली प्रदर्शन गरेका उनी वेल्सविरुद्ध समेत सबैको नगरमा पर्नेछन् ।
दुई खेलमा उनले दुई गोल समेत गरेका छन् । पहिलो खेलमा टर्कीविरुद्ध ७४ मिनेट खेलेका लोकाटेलीले दोस्रो खेलमा भने पूरा समय खेल्दै महत्वपूर्ण दुई गोल गरे ।
२३ वर्षीय लोकाटेली घरेलु लिग सिरी 'ए' क्लब सासोउलोबाट खेल्ने गर्छन् । लोकाटेलीसँग इटालीको उमेर समूहको यू–१५, १६, १७, १९, २१ टोलीबाट खेलेको अनुभव छ । सिनियर टोलीबाट भने लोकाटेलीले १२ खेल खेल्दै ३ गोल गरेका छन् ।
डानियल जेम्स – वेल्स
इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडबाट व्यवसायिक फुटबल खेलिरहेका मिडफिल्डर तथा विंगर जेम्स इटालीविरुद्ध प्रभावशाली प्रदर्शन गर्न सक्छन् ।
२३ वर्षीय युवा खेलाडी डेनियल जेम्सले सुरुवाती दुई खेलमा औषत प्रदर्शन गरेका छन् । पहिलो खेलमा स्विजरल्याण्डविरुद्ध ७५ मिनेट खेलका उनले २ महत्वपूर्ण पास निकालेका थिए । दोस्रो खेलमा भने टर्कीविरुद्ध ८९ मिनेट खेल्दै ४ महत्वपूर्ण पास उपलब्ध गराएका थिए ।
वेल्सको उमेर समूहको यू–१७, १९, २० र २१ टोलीबाट खेलेका जेम्सले सिनियर टोलीबाट २२ खेल खेल्दै ४ गोल गरेका छन् ।