एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) इटालीले समूह चरणको अन्तिम खेलमा वेल्ससँग प्रतिस्पर्धा गर्दैछ ।
समूह 'ए' मा रहेको इटालीले घरेलु मैदान रोममा वेल्ससँग खेल्नेछ । इटाली र वेल्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
इटाली यस अघि नै नकआउट अर्थात् अन्तिम १६ मा प्रवेश गरिसकेको छ । तर, अन्तिम खेलमा जित निकाल्दै इटाली समूह विजेता बन्न चाहन्छ ।
अघिल्ला दुई खेलमा जित निकालेको इटालीले २ खेलमा ६ अंक जोडेको छ । इटाली समूहको शीर्ष स्थानमा रहेको छ ।
'हामी हरेक खेलमा शतप्रतिशत दिने कोशिस गरिरहेका छौँ । हाम्रो लागि वेल्ससँगको खेल अर्को परिक्षा हुनेछ,' इटालीका फरवार्ड डोमिनिको बेरार्डी भन्छन्, 'र, हाम्रो लक्ष्य जित हुनेछ ।'
पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्विजरल्याण्डलाई ३-० गोल अन्तरले नै हराएको थियो ।
चोटको कारण इटालीका कप्तान जर्जियो चेलीनीले वेल्सविरुद्धको खेल गुमाउने छन् । उनको स्थानमा फ्रान्स्सिको खेल्ने सम्भावना रहेको छ । यस्तै मिडफिल्डर मार्को भेराट्टी चोट मुक्त हुँदै टिममा फर्कने बताईएको छ ।
वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ । इटालीलाई पराजित वा बराबरी गरेको खण्डमा वेल्स नकआउट चरणमा पुग्नेछ । इटालीसँग पराजित भएमा वेल्सको अर्को चरणको यात्रा स्वीजरल्याण्ड र टर्कीबीचको खेलले तय गर्नेछ ।
'हामी इटालीविरुद्ध प्रतिस्पर्धा र जित निकाल्ने टिम बनाउने छौँ र रणनीति बनाउने छौँ,' इटालीसँगको खेल अघि वेल्सका प्रशिक्षक रोबर्ट पेजले भने, 'हामी हरेक खेल जित्न चाहन्छौ । र, आइतबार पनि फरक हुने छैन ।'
वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।