एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार)हुने दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । समूह 'एफ' मा रहेका दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
आज पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहनेछ । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । पोर्चुगल ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।
जर्मनी भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित जर्मनीका लागि यस खेल महत्वपूर्ण रहेको छ । नकआउट चरणको सम्भावना कायम राख्न जर्मनीलाई जित बाहेक अन्य विकल्प छैन । जर्मनी समूहको तेस्रो स्थानमा रहेको छ ।
प्लेयर्स टु वाच -
क्रिस्टियानो रोनाल्डो – पोर्चुगल
युरोपियन च्याम्पियनसिपमा ५ संस्करण खेल्ने खेलाडीको कीर्तिमान पोर्चुगिज कप्तान रोनाल्डोसँग रहेको छ । पहिलो खेलमा दुई गोल गर्दै रोनाल्डोले आफ्नो गोल संख्या ११ पूरा गर्दै युरोकपमा सर्वाधिक धेरै गोलकर्ताको कीर्तिमान समेत बनाए ।
त्यसैले रोनाल्डो जर्मनीविरुद्ध पोर्चुगलका लागि महत्वपूर्ण खेलाडी बन्न सक्छन् । ३६ वर्षीय रोनाल्डो सिरी ए क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । त्यसअघि रोनाल्डोसँग रियल मड्रिडबाट ९ व र्ष र म्यानचेस्टर युनाईटेडबाट ६ वर्ष खेलेको अनुभव छ ।
रोनाल्डोले पोर्चुगलको सिनियर टोलीबाट १ सय ७६ खेल खेल्दै १ सय ६ गोल गरेका छन् ।
काइ हाभर्टेज - जर्मनी
पहिलो खेलमै पराजित भएको जर्मनी बलियो पोर्चुगलविरुद्ध गर या मरको स्थितीमा रहेको छ ।
पोर्चुगलविरुद्ध जर्मनीलाई अट्याकिङ फुटबल खेल्नुको विकल्प छैन । उसलाई धेरै भन्दा धेरै गोलको खाचो रहेको छ । जसका लागि जर्मनी टोलीले युवा अट्याकर काइ हाभर्टेजलाई अघि सार्ने छ ।
२२ वर्षीय अट्याकिङ मिडफिल्डर हाभर्टेज इंग्लिस क्लब चेल्सीबाट व्यावसायिक फुटबल खेल्ने गर्छन् । हाभर्टेजले जर्मनीको उमेर समूहको यू–१६, १७, १९ टोलीबाट समेत खेलेका छन् । हाभर्टेजले सिनियर टोलीबाट १५ खेल खेल्दा ३ गोल गरेका छन् । पहिलो खेलमा हाभर्टेजले ७४ मिनेट मैदान बिताएका थिए ।