एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुँदैछ । समूह ’एफ’ मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
आज फ्रान्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले हराएको थियो । फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
हंगेरी भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा हंगेरी पोर्चुगलसँग ३–० ले पराजित भएको थियो । हंगेरी समूहको पुछारमा रहेको छ ।
प्लेयर्स टु वाच -
केलियन एमबाप्पे – फ्रान्स
तिव्र गतिको दौड र उत्कृष्ट फिनिसङबाट परिचित युवा अट्याकर एमबाप्पे हंगेरीविरुद्ध फ्रान्सका लागि सबैभन्दा महत्वपूर्ण खेलाडी हुनेछन् ।
घरेलु क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्दै आएका एमबाप्पे हंगेरीका लागि टाउको दुखाइको विषय बन्न सक्छन् । २२ वर्षीय उनले राष्ट्रिय टोलीबाट ४३ खेलमा १७ गोल गरिसकेका छन् ।
विश्वकप विजेता टिमका खेलाडी एमबाप्पेले जर्मनीविरुद्ध ९० मिनेटनै मैदानमा बिताएका थिए ।
विलि ओर्वान – हंगेरी
फ्रान्सका शक्तिशाली अट्याकर केलियन एमबाप्पे, करिम बेन्जिमा, एन्टोनियो ग्रीजम्यान जस्ता खेलाडीलाई रोक्न हंगेरीले डिफेन्डर विलि ओर्वानलाई तयार गर्नेछ । बुन्डेसलिगा क्लब आरबी लाईपजिगबाट खेल्दै आएका आर्वान फ्रान्सविरुद्ध डिफेन्स लाईनमा व्यस्त रहनेछन् ।
२८ वर्षीय विल्लीसँग जर्मनको यू-२१ टोलीबाट खेलेको अनुभव छ । उनले हंगेरीको राष्ट्रिय टोलीबाट २२ खेल खेल्दा ५ गोल गरेका छन् । सुरुवाती खेलमा पोर्चुगलविरुद्ध ९० मिनेट मैदान बिताएका ओर्वानले विपक्षीका ७ प्रहारलाई रोकेको थिए ।