एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (शनिबार) हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुँदैछ । पुस्कास एरिनामा हुने फ्रान्स र हंगेरीबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
समूह 'एफ' मा रहेको फ्रान्स आज लगातार दोस्रो जित निकाल्ने योजना सहित मैदान उत्रनेछ ।
पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो । फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
तर, हंगेरीलाई हराएर फ्रान्स नकआउट चरण पुग्न चाहन्छ ।
'हामी दुई खेल जित्छौं भने छनोट हुन्छौं । हाम्रो पहिलो लक्ष्य त्यहिँ हो,' फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेस्च्याम्प भन्छन् ।
तर, फ्रान्स मेहेनती र संगठित टिम हंगेरीविरुद्ध सतर्क भएर खेल्नेछ ।
फ्रान्सविरुद्ध मैदान उत्रदा हंगेरी पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा हंगेरी पोर्चुगलसँग ३-० ले पराजित भएको थियो । हंगेरी समूहको पुछारमा रहेको छ ।
'यो हाम्रो लागि ठुलो प्रेरणा हो । हामी विश्व च्याम्पियन टिमको कुरा गर्दैछौँ । हामी असम्भव कार्यको अगाडी उभिएका छौँ । तर, हामी उत्कृष्ट दिन्छौं,' हंगेरीका प्रशिक्षक मार्को रोसी भन्छन् ।
फ्रान्स र हंगेरीबीच मुख्य प्रतियोगितामा दुई पटक खेल भएको छ । जसमा फ्रान्स विजयी भएको छ ।
हंगेरीविरुद्ध फ्रान्सेली टिमलाई चोटको समस्या हुने छैन । पहिलो खेलमा चोट बोकेका बेन्जामिन पाभर्ड ठिक भईसकेका छन् ।
चोटका कारण हंगेरीका मिडफिल्डर डानिल गाज्डाजले फ्रान्सविरुद्ध खेल्ने छैनन् ।