एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (शुक्रबार)हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
समूह 'डी’ को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो ।
स्कटल्याण्ड भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा स्कटल्याण्ड चेक रिपब्लिकसँग २–० गो अन्तरले स्तब्ध भएको थियो । अंक विहीन स्कटल्याण्ड पुछारमा रहेको छ ।
इंग्ल्यान्ड र स्कटल्याण्ड २५ वर्षपछि ठुलो प्रतियोगितामा भिड्न लागेका हुन् । ग्यारेथ साउथगेटको इंग्ल्यान्ड स्कटल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा पुग्न चाहन्छ । यता, हारले भने स्कटल्याण्ड बाहिरिने पक्का छ । स्टेभन क्लार्कको स्कटल्याण्ड इंग्ल्यान्डविरुद्ध गर या मरको स्थितिमा हुनेछ ।
दुई टोलीबीचको खेल हेर्न वेम्बली स्टेडियममा २२ हजार ५०० समर्थकको उपस्थित रहने बीबीसीले जनाएको छ ।
म्यानचेस्टर युनाईटेडका सेन्टर ब्याक ह्यारी मग्वाएर स्कटल्याण्डविरुद्ध उपलब्ध हुनेछन् । उनले क्रोएसियाविरुद्धको खेल गुमाएका थिए ।
प्लेयर्स टु वाच -
काल्भिन फिलिप्स - इंग्ल्यान्ड
लिड्स युनाईटडका मिडफिल्डर समेत रहेका काल्भिन फिलिप्स पहिलो खेलमा क्रोएसियाविरुद्धको छाएका थिए । पहिलो खेल प्रदर्शन हेर्दा उनी स्कटल्याण्डविरुद्ध प्रभावशाली हुने देखिन्छन् । मिडलाईनमा बल होल्ड गर्ने, तिब्र गती र विपक्षी डिफेन्डरलाई सहजै बिट गरि अट्याकरलाई बल उपलब्ध गराएका कारण क्रोएसियाविरुद्ध २५ वर्षीय काल्भिन चर्चामा रहे ।
सिनियर टोलीबाट ९ खेल मात्रै खेलेका काल्भिनले पहिलो खेलमा ९० मिनेट खेल्दै १ गोलका लागि पास उपलब्ध गराएका थिए । लिड्स युनाईटेडबाट काल्भिनले १ सय ९४ खेल खेल्दै १३ गोल गरेका छन् ।
एन्डी रोबर्टसन - स्कटल्याण्ड
युवा खेलाडीले भरिएको इंग्ल्यान्ड टोलीको अट्याकलाई रोक्न स्कटल्याण्डका डिफेन्डर एन्डी रोबर्टसनले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । २७ वर्षीय डिफेन्डर आफ्नो अनुभव इंग्ल्यान्डविरुद्ध देखाउन सक्छन् ।
लेफ्ट ब्याक रोबर्टसन मिडलाइनमा समेत खेल्न सक्छन् । स्कटल्याण्ड कप्तान समेत रहेका उनी लिभरपुलबाट व्यवसायिक फुटबल खेल्ने गर्छन् । त्यसअघि उनले हल सिटी र क्विन्स पार्कबाट खेलेका छन् । एन्डीले स्कटल्याण्डका लागि ४६ खेलमा ३ गोल गरेका छन् ।