एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शुक्रबार) हुने दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
समूह 'डी’ मा रहेको क्रोएसिया पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो । क्रोएसिया समूहको तेस्रो स्थानमा रहेको छ । चेक रिपब्लिक भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले हराएको थियो । चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।
क्रोएसियाका सेन्टर ब्याक डेजान लोभ्रेन चोटमुक्त हुँदै खेलमा फर्कने छन् । ब्रुनो पेटकोभिकले अग्रपंक्तिमा एन्ट रेविकलाई परिवर्तन गर्न सक्छन् । लेफ्ट ब्याक बोर्ना बारीसिक चोटका कारण बाहिर रहन सक्छन् ।
यता, चेक रिपब्लिकले भने स्कटल्याण्डविरुद्ध २–० ले जित निकालेकै सेट खेलाउन सक्छ । यद्यपि गोलरक्षक भने परिवर्तन हुन सक्छ । चोटकै कारण गोलरक्षक जिरी पाभ्लेनकाको स्थानमा टोमस कोउवेक टोलीमा अटाउनेछन् ।
प्लेयर्स टु वाच -
माटियो कोभासिच – क्रोएसिया
पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध पराजित भएको क्रोएसियालाई नकआउट चरणमा पुग्न चेक रिपब्लिकलाई हराउनै पर्ने दबाबमा छ । जसका लागि युरोपमा राम्रो प्रदर्शन गर्दै आईरहेका अनुभवी मिडफिल्डर माटियो कोभासिचले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
व्यवसायिक फुटबलमा इन्टर मिलान, रियल म्याड्रिडबाट खेलिसकेका कोभासिचले यस सिजन चेल्सीबाट युरोपियन च्याम्पियन्सलिगको उपाधि जितेका थिए । उनीसँग क्रोएसियाको उमेर समूहमा यू-१४, १५, १७, १९, २१ टोलीबाट खेलेको अनुभव छ । उनले क्रोएसियाको सिनियर टोलीबाट ६८ खेल खेल्दा ३ गोल गरेका थिए ।
पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध कोभासिचले ८५ मिनेट खेलेका थिए ।
भ्लादमिर डारिडा – चेक रिपब्लिक
प्लेमेकर समेत रहेका कप्तान भ्लादमिर विश्व उपविजेता क्रोएसियाविरुद्ध प्रभावशाली प्रदर्शन गर्न सक्छन् । ३० वर्षीय अनुभवी मिडफिल्डर जर्मन बुण्डेस लिगा क्लब हेर्थ बीएससीबाट खेल्ने गर्छन । चेक टोलीको उमेर समूहमा २१ टोलीबाट मात्रै खेलेका भ्लादमिरले राष्ट्रिय टोलीका लागि ७२ खेल खेल्दा ८ गोल गरेका छन् ।
पहिलो खेलमा स्कटल्याण्डविरुद्ध २–० को जित निकाल्ने क्रममा भ्लादमिरले ८७ मिनेट मैदानमा बिताएका थिए । उनले पोर्चुगलविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।