एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (शुक्रबार)हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ई’ मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
आज स्लोभाकिया लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो । स्विडेन भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो ।
कोरोना देखिएपछि स्विडेनका मिडफिल्डर डेजान कुलुसेभस्की र माटियस स्वानबर्गले पहिलो खेल गुमाएका थिए । स्लोभाकियाविरुद्ध दुबै खेलाडी उपलब्ध हुने छन् । स्पेनविरुद्ध चोट बोकेका राईट ब्याक मिकाएल लुस्टिगले स्लोभाकियाविरुद्धको खेल गुमाउने सम्भावना रहेको छ ।
पोल्याण्डविरुद्ध जित निकाल्दा टोली बाहिर रहेका स्लोभाकियाका स्ट्राइकर इभान स्विडेनविरुद्ध समेत खेल्ने छैनन् ।
मुख्य प्रतियोगितामा दुई टोलीले पहिलो पटक खेल्न लागेका हुन् । सन् २०१८ मा भएको मैत्रीपूर्णमा स्विडेन र स्लोभाकियाले १–१ को बराबरी खेलेका थिए ।
प्लेयर्स टु वाच -
सेबास्टियन लार्सन – स्विडेन
सेबास्टियन लार्सन टिमका कप्तान हुन् । त्यसैले स्लोभाकियाविरुद्ध लार्सनबाट टिमले राम्रो प्रदर्शनको अपेक्षा गरेको छ । ३६ वर्षीय अनुभवी कप्तान मिडलाईनमा बल होल्ड गर्न, लामा सट प्रहार गर्न, अट्याकरसम्म बल उपलब्ध गराउन माहिर छन् ।
स्पेनविरुद्ध ९० मिनेट खेलेका लार्सनसँग इंग्लिस क्लब आर्सनल, सण्डरल्याण्ड, हल सिटीबाट खेलेको अनुभव छ । हाल लार्सन घरेलु क्लब अलस्भेनस्कानबाट खेलिरहेका छन् ।
लार्सनले स्विडेनको यू–१७, १९ र २१ बाट खेलेका छन् । सिनियर टोलीबाट १ सय ३० खेल खेल्दा १० गोल समेत गरेका छन् ।
रोबर्ट माक – स्लोभाकिया
स्विडेनविरुद्ध दोस्रो जित निकाल्ने योजनामा रहँदा स्लोभाकियाको लागि मिडफिल्डर रोबर्ट मुख्य खेलाडी हुनेछन् । पोल्याण्डविरुद्धको पहिलो जितमा ३० वर्षीय अनुभवी विंगरले ८९ मिनेट मैदानमा बिताएका थिए ।
रोबर्ट व्यवसायिक फुटबल हेन्गेरियन क्लब फेरेनसभारोरी टिसीबाट खेल्ने गर्छन । उमेर समूहमा म्यानचेष्टर सिटीबाट खेलेका रोबर्टसँग स्लोभाकीयाको यू–१७, १९, २१ टोलीबाट खेलेको अनुभव छ । माकले स्लोभाकियाको सिनियर टोलीबाट ६७ खेल खेल्दा १४ गोल गरेका छन् ।