एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (बिहीबार) हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
समूह 'सी’ मा रहेको नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो । अष्ट्रिया पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो ।
अष्ट्रियाविरुद्ध नेदरल्यान्ड्सका म्याथिस डी लिग्ट मैदान फर्कन सक्ने छन् । चोटको कारण उनी युक्रेनविरुद्ध खेलेका थिएनन् ।
यता, अष्ट्रियाका स्ट्राइकर मार्को आर्नोटोभिकले नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउने छन् । युरोकप फुटबल अन्तर्गत नर्थ म्यासेडोनियाविरुद्धको खेलमा विपक्षी खेलाडीलाई अपमान गरेको भन्दै यूईएफले मार्कोलाई एक खेलको प्रतिबन्ध लगाएको छ ।
प्लेयर्स टु वाच -
जर्जिनियो विनाल्डम :
युक्रेनविरुद्धको प्रतिस्पर्धात्मक खेलमा विनाल्डमको प्रदर्शन प्रभावशाली थियो । पूरा समय खेलेका उनले १ गोल समेत गरे । उनको दुई सट अन टार्गेट राख्दा १ सट अफ टार्गेट थियो ।
हालै इंग्लिस क्लब लिभरपुरबाट फ्रेन्च क्लब पीएसजी आएका ३० वर्षीय अनुभवी मिडफिल्डर अष्ट्रियाविरुद्ध समेत टिमको मुख्य खेलाडी हुने छन् । विनाल्डमले डच टिमको उमेर समूहको यू-१७, १९, २१ टोलीबाट खेलिसकेका छन् । यस्तै सिनियर टोलीबाट ७६ खेल खेल्दै २३ गोल गरेका छन् ।
डेभिड अल्बा :
नेदरल्यान्ड्सविरुद्ध खेल्दै गर्दा अष्ट्रियाले विपक्षीको अट्याक रोक्नुनै मुख्य चुनौती रहन्छ । त्यसका लागि अष्ट्रियाका मुख्य खम्बाका रुपमा डिफेन्डर डेभिड अल्बा रहने छन् ।
स्पेनिस क्लब रियल मड्रिडमा आबद्द अल्बा नेदरल्यान्ड्सविरुद्ध मुख्य खेलाडी हुने छन् । टिमका कप्तान समेत रहेका २८ वर्षीय अल्बा विंगरको भूमिकामा समेत खेल्न सक्छन् ।
अल्बासँग अष्ट्रियाको उमेर समूहको यू–१७, १९, २१ बाट खेलेको अनुभव छ । अल्बाले सिनियर टोलीबाट ८२ खेल खेल्दा १४ गोल गरेका छन् । पहिलो खेलमा उनले ९० मिनेट खेल्दै एक गोलको लागि पास उपलब्ध गराएका थिए ।